
काठमाडौं, २१ पुस । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको (बीओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ ।
दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।
राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि ग्लोबल आईएमई बैंकका नामबाट आगामी पुस २५ गतेदेखि एकीकृत कारोबार सुरू हुन लागेको हो ।
मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आईएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौँ जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ ।
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । बैंक अफ काठमाण्डुको एक सय कित्ता शेयर भएका शेयरधनीले मर्जरपश्चात् ग्लोबल आईएमई बैंकको एक सय कित्ता शेयर प्राप्त गर्नेछन् ।
मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पुँजी रू. ३४ अर्ब ४१ करोड पुग्नेछ । बैंकको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप रू. तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा रू. तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ । मर्जरपश्चात् बैंकको शाखा सञ्जाल तीन सय ६५ र एटीएम तीन सय २८ पुग्नेछन् ।
मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ग्लोबल आईएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्नेछन् । साथै मर्जरपश्चात् बैंक अफ काठमाण्डुका सीईओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डुका तर्फबाट दुई जना रहने सहमति भएको थियो ।
पुस २५ गते एकीकृत कारोबार अगाडि तीन दिन बैंक अफ काठमाण्डु लिमिटेडले तीन दिन सेवा बन्द गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै डाटा माइग्रेशन प्रयोजनका लागि बैंकले पुस २२ देखि २४ गतेसम्म सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाएको हो ।















प्रतिक्रिया