
काठमाडौं, २० पुस । अंग्रेजी नयाँ वर्षका दिन ८९ जना रुसी सैनिकहरूको ज्यान जाने गरी भएको एक क्षेप्यास्त्र हमलाको कारण आफ्ना फौजले नियम तोडेर मोबाइल फोन चलाउनु रहेको मस्कोले जनाएको छ।
अधीनस्थ डोनेत्स्क क्षेत्रमा पर्ने म्याकिइभका सहरमा युक्रेनी हमलामा ४०० रुसी सैनिकहरू मारिएको र अन्य ३०० जति घाइते भएको किएभले दाबी गरेको थियो।
जारी युद्धमा यो एकै घटनामा रुसले स्वीकारेको मृत्युको सबैभन्दा उच्च सङ्ख्या हो। रुसी अधिकारीहरूले धेरै जनाले मोबाइल फोनको प्रयोग गर्नुले यति ठूलो संख्यामा सैनिकले ज्यान गुमाउनु परेको बताएका छन् ।
नयाँ वर्षको दिन मस्को समय अनुसार रातको १२ बजेर १ मिनेट जाँदा अमेरिकामा बनेका हाइमार्स रकेट प्रणालीबाट ६ वटा क्षेप्यास्त्र प्रहार भएकोमा दुई वटा खसालिएको रुसले जनाएको छ ।
एक क्याम्पसमा बसिरहेका रुसी सैनिकमाथि युक्रेनी सैनिकले क्षेप्यास्त्र प्रहार गरेका थिए । सेनालाई मोबाइल फोन प्रयोगमा निषेध गरिएको थियो। तर यो आक्रमण र घटनाको प्रकृति हेर्दा सेनाहरुले उक्त नियमको उलंघन गरेको निष्कर्ष रुसले निकालेको हो।
मोबाइलका कारण युक्रेनी सेनालाई रुसी सैनिक बसेको स्थान पत्ता लगाउन सजिलो भएको रुसले दाबी गरेको छ ।















प्रतिक्रिया