३१ आश्विन २०८३, शनिबार

महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ जना कृषक पुरस्कृत

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा (कपिलवस्तु), १९ पुस । व्यापार संघ कपिलवस्तुले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ जना कृषक पुरस्कृत भएका छन् ।

शिवराज नगरपालिका कृषि विकास शाखाले जारी गरेको सूचनाबमोजिम कृषकले उत्पादन गरेका सामग्रीहरुबीच महोत्सवमा प्रदर्शनसहित प्रतिस्पर्धा गराइएको थियो ।

खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सात वटा विधामा उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख ताराचन्द्र चौधरीले जानकारी दिए । कृषकहरूले उत्पादन गरेको सामग्रीलाई प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकहरूलाई नगदसहित सम्मान गर्दा हौसला बढ्ने शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले बताइन् ।

महोत्सव आयोजकले नि:शुल्क रुपमा स्टल उपलब्ध गराइ किसानहरूले उत्पादन गरेको सामग्रीहरूले प्रदर्शन गर्न सहयोग गरेकामा उनले धन्यवाद दिइन् । महोत्सवले कृषि क्षेत्रको विकासमा टेवा पुर्‍याउने भएकाले कृषि महोत्सवमा कृषकहरूको सहभागिता हुनुपर्नेमा थारुले जोड दिएकी छिन् ।

कृषकहरूलाई पुरस्कृत गर्दै उपप्रमुख थारुले कृषकहरूबीचको प्रतिस्पर्धाले आगामी दिनमा कृषकहरूलाई कृषि उत्पादनमा थप वृद्धि हुने जिकिर गरिन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक महादेव पोख्रेलले महोत्सवले कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताए । कृषकहरूले उत्पादन गरेका सामग्री महोत्सवमा प्रदर्शन भएकाले अन्य व्यक्तिहरूको कृषितर्फ आकर्षित भएको बताए ।

महोत्सवमा प्रथम हुने कृषकहरूलाई रू. २ हजार, द्धितीय हुने कृषकहरूलाई रू. १ हजार ५०० र तृतीय हुने कृषकहरूलाई रू. १ हजार पुरस्कार प्रदान गरिएको छ ।