
काठमाडौं, १९ पुस । काठमाडौंमा जारी नेपाल टी–ट्वेन्टी लिगमा ‘फिक्सिङ’ भएको घटनाले अहिले नेपाली क्रिकेट जगत नै तरंगित भएको छ ।
कमेन्टेटर सचिन तिमल्सेनाले भिडिओ जारी गर्दै फिक्सिङ भएको दाबी गरेपछि घटना बाहिर आएको हो । १० दिनदेखि लिगको कमेन्ट्री गर्दै आएका सचिनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै फिक्सिङ भएको दाबी गरेका हुन् ।
उनले कमेन्ट्रीका क्रममा आश्चार्यजनक गतिविधि देखेको जुन व्यावसायिक खेलाडीहरूमा हुनै नसक्ने दाबी गरेका छन् ।
यसैबीच क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्लले पनि आफ्नो टीमका खेलाडीलाई पनि ‘फिक्सिङ’का लागि प्रस्ताव आएको खुलासा गरेका छन् । उनको खुलासापछि खेलमा ‘फिक्सिङ’ भएको तथ्य समेत पुष्टि भएको हो ।
राष्ट्रिय टीमका पूर्व कप्तानसमेत रहेका मल्लले आफ्नो टीमको एकजना खेलाडीलाई पनि प्रस्ताव आएको र त्यसबारेमा आफूहरूले कम्प्लेन पनि गरिसकेको बताएका छन् । ‘हाम्रो एउटा खेलाडीलाई पनि एप्रोच आएको थियो, हामीले कम्प्लेन गरेका छौँ,’ उनले भनेका छन् ।
‘फिक्सिङ’को समाचारहरू बाहिरिएपछि अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरू गरिसकेको छ । लिगमाथि अनुसन्धान गर्न सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा टोली खटिएको छ ।
नेपाल टी–२० लिग आयोजना गर्न नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई दिएको छ । वान एक्स ब्याट लिगको प्रायोजक छ । जुन बेटिङ कम्पनी वान एक्स बेटको सहायक कम्पनी हो । यसले गर्दा यो लिगको फिक्सिङ र बेटिङ भइरहेको आशंका गरिएको छ ।















प्रतिक्रिया