
काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने भएका छन् ।
पहिलो संसद बैठक २५ गते बस्नेछ । पहिलो संसद बैठकको भोलि पल्ट नै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । सरकारले विश्वासको मत लिने प्रवन्ध मिलाउने संघीय संसद सचिवालयलाई पत्राचारसमेत गरेको छ ।
यस्तै, सोमबार प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी थाल्न निर्देशन दिएका छन् ।
हेरौँ सोमबार दिनभरका समाचारका मुख्य मुख्य हेडलाइनहरु–
१. प्रचण्डले पाउँछन् त विश्वासको मत ? : सात दलका र तीन जना स्वतन्त्रसहित १६८ जना सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने, संघीय संसद सचिवालयलाई सरकारले गर्यो पत्राचार ।
२. बालकोट पुगे बाबुराम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच बालकोटमा भेटवार्ता, मुलुकको समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिता लगायत विषयमा छलफल ।
३. निर्वाचनको प्रक्रिया थाल्न निर्देशन : राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया प्रारम्भ गर्न निर्वाचन अयोगलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन, स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई दिए धन्यवाद ।
४. सीडीओहरू आवाजविहीनहरूको आवाज बन्नुपर्छ : जाखिर खाएको जस्तो गरेर नभई स्प्रीटका साथ काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई गृहमन्त्री रवि लामिछानेको निर्देशन, आवाजविहीनहरूको आवाज बनेर काम गर्न आग्रह ।
५. प्रभावकारी कानुन निर्माणमा जोड : देशको हित गर्ने गरी प्रभावकारी कानुन निर्माण गर्नुपर्नेमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको जोड, शून्यको अवस्थामा पुगेको यसअघिका केही महत्वपूर्ण विधेयकहरू पुन: ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त ।
६. धर्मसंकटमा नेकपा एस : नेकपा (एकीकृत समाजवादी) का अधिकांश पोलिटब्युरो सदस्यहरूले वामपन्थी शत्तिबीचको एकता र प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्नेमा जोड, सरकारमा सहभागिताका लागि कतैबाट पनि औपचारिक प्रस्ताव नआएपछि धर्मसङ्कटमा परे अध्यक्ष माधव नेपाल ।
७. अझै अन्योलमा जसपा : सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा जनता समाजवादी पार्टीभित्र बढ्यो विवाद, मंगलबार पुन छलफल हुने ।
८. चौधरी बने संसदीय दलको नेता : नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेता चयन भए डिल्ली चौधरी, आकांक्षीहरू राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर रानालाई पारे पछि ।
९. मुख्यमन्त्रीमा दाबी : पार्टी सरकारमा जाने परिस्थिति बने बागमती प्रदेशको मुख्यमन्त्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको दाबी रहने प्रदेश संसदीय दलका नेता उद्धव थापाको घोषणा, राप्रपाले नेतृत्व पाए प्रदेश संरचना नै खारेज गर्ने प्रक्रिया अघि बढाइने दाबी ।
१०. पहिलो बैठकमै पाँच वटा अध्यादेश पेश : वागमती प्रदेशको पहिलो प्रदेश सभा बैठकमा पाँचवटा अध्यादेश पेश, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित ।
११. सदन चल्न नदिने चेतावनी : सुदूरपश्चिम प्रदेशसभाको बैठक चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी, टीकापुर घटनाका आरोपी रेशम चौधरीलगायत राजबन्दीहरूलाई तत्काल रिहा गर्नुपर्ने माग ।
१२. उपप्रमुख सुनिताको आश्वासन : खुलामञ्चमा भूमिगत पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्व अकुपाईँ टुडीँखेलले गर्यो विरोध प्रदर्शन, जनचाहनाविपरीत पार्किङ नबनाइने महानगरकी उपप्रमुख सुनिता डंगोलको आश्वासन ।
१३. भारतमा तीन जना नेपालीको मृत्यु : भारतको उत्तराखण्डमा मजदुरी गर्दै आएका कैलालीका तीन जनाको मृत्यु, कोठाभित्रै निसास्सिएर गौरीगंगा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया श्रीमती कुमारी भुल र दुई वर्षीया छोरीको गयो ज्यान ।
१४. हिंसात्मक घटनामा १० जना मारिए : भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा ६ दिनको अवधिमा १० जनाको मृत्यु, काश्मिरमा करिब ५० लाख भारतीय सैनिक तैनाथ ।
१५. फार वेस्ट पराजित : काठमाडौंमा जारी नेपाल टी–ट्वेन्टी लिगमा जनकपुर रोयल्ससँग फार वेस्ट ४२ रनले पराजित, काठमाडौं नाइट्सलाई ५ विकेटले हराउँदै पोखरा एभेन्जर्सको तेस्रो जित, प्लेअपमा पुग्ने सम्भावना कायमै ।















प्रतिक्रिया