
काठमाडौं, १८ पुस । काठमाडौंको मध्यभागमा रहेको खुलामञ्चलाई भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग गर्दै अभियन्ताहरुले काठमाडौं महानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
सोमबार टुँडीखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका अभियान्ताहरुले भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग गर्दै प्रदर्शनसहित महानगरमा ज्ञापन पत्र बुझाएका हुन् ।
महानगरबाट भएको उक्त निर्णयको आलोचना हुँदा समेत आधिकारीक धारणा नआउनु र डीपीआरको कामलाई निरन्तरता दिने काम भएकाले जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराउनुपरेको उनीहरुको भनाई छ ।
ज्ञापनपत्र बुझाउने क्रममा अभियन्ता एवं कांग्रेस नेता भीमसेनदास प्रधानले अहिले ऐतिहासिक टुँडीखेल र त्यसभित्र रहेको खुलामञ्चलाई संरक्षण गर्नु सवैको दायित्व भएको बताए । खुलामञ्चलाई भूमिगत पार्किङको रुपमा प्रयोग गर्दा नजिकै रहेको वीर अस्पताललाई समेत असर पर्ने उनको भनाइ छ ।
अभियन्ताको ज्ञापन पत्र बुझ्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक जग्गालाई सबैले संरक्षण गर्नुपर्ने भन्दै जनताको चाहना विपरीत कुनैपनि निर्माण अघि नबढ्ने बताइन् ।
सन १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुल्ला क्षेत्र भएको टुँडिखेलको भू-भाग हालसम्म आइपुग्दा १४ प्रतिशत खुम्चन पुगेको र अतिक्रमण हुने क्रम बढ्दो रहेको अभियान्ताहरुले गुनासो गरेका छन् ।















प्रतिक्रिया