
काठमाडौं, १६ पुस । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्बोडियाको एक क्यासीनोमा भएको आगलागीमा परेर ज्यान गुमाएका बिर्तामोड झापा–१ का निराकर पाण्डेको शव तत्काल नेपाल ल्याउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
पाण्डेको बिहीबार आगलागीबाट बच्न १२ तलाबाट हामफाल्दा मृत्यु भएको थियो ।
यस्तै प्रधानमन्त्री प्रचण्डले शनिबार चितवनमा आयोजित एक कार्यक्रममा यो कार्यकालमा आफू काम गर्ने प्रतिज्ञा गरेर आएको बताएका छन् ।
यो पटक भाषण भन्दा काममा ध्यान दिने प्रधानमन्त्रीको भनाई थियो ।
हेरौँ शनिबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरु–
१. प्रधानमन्त्रीको निर्देशन : आगलागीका कारण कम्बोडियामा ज्यान गुमाएका विर्तामोड–१ झापाका निराकर पाण्डेको शव तत्काल नेपाल ल्याउने प्रबन्ध मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन, बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारको गुनासो ।
२. भाषण होइन काम गर्छु : यो पटक भाषण कम काम धेरै गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा, हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने प्रतिज्ञा गरेको भनाई ।
३. गृहमन्त्रालयले थाल्यो पहल : सेवाग्राहीको निरन्तर गुनासो आएपछि राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन गृह मन्त्रालयले थाल्यो पहल, सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुने समस्या समाधान गरिँदै ।
४. अध्यक्ष ओली र राजदूत क्यापेल्लरबीच भेट : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेल्लरबीच भेटवार्ता, दुई देशबीचको मैत्रीपूर्ण र आर्थिक सम्बन्धका साथै राजनीतिक, सामाजिक तथा समसामयिक विषयमा कुराकानी ।
५. नेतृत्वको गम्भीर गल्ती : प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्ष बन्न पुग्नु पार्टी नेतृत्वको गम्भीर गल्ती भएको कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भनाइ, बदलिँदो राजनीतिक अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुन नपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको जिकिर ।
६. रावल र जमकट्टेल दलको नेता : नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्र रावल र उपनेतामा सन्तोष कुमारी शर्मा थापा तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल सर्वसम्मत चयन, जमकट्टेललाई चयन गरिएकामा सरल सहयात्रीद्वारा असन्तुष्टि व्यक्त ।
७. देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा : नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने खतरा बढेको भन्दै तत्काल महत्वपूर्ण कदम चाल्न सरकारलाई राष्ट्रिय उद्योग तथा व्यापार महासंघको सुझाव, बैक तथा वित्तीय संस्थाले वृद्वि गरेको व्याजदरलाई न्यूनीकरण गरी एकल अङ्क कायम गरिनुपर्ने माग ।
८. जसपा पनि सरकारमा जाने : जनता समाजावादी पार्टी पनि सरकारमा सहभागी हुने, मन्त्रीहरुको टुङ्गो लगाउने जिम्मा राजनीतिक समितिलाई ।
९. एकताको हल्ला निराधार : अन्य दलहरूसँग एकताको हल्ला निराधार भएको नेकपा एकीकृत समाजवादी पार्टीको प्रष्टीकरण, पार्टी एकता नभई एजेण्डामा सहकार्य गर्न सकिने भनाई ।
१०. ऋणको भार : चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड पुग्यो, बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड, आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड रुपैँया बराबर ।
११. हवाईक्षेत्र सुरक्षित बनाउन चूनौती : नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दीगो बनाउन चूनौती रहेको नेपाल नागरिक उडड्यन प्राधिकरणको भनाइ, अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलको स्तरोन्नतिका लागि प्राधिकरणले उपलब्धीपूर्ण काम गरेको दाबी ।
१२. चुनौतीपूर्ण वर्ष : प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सन् २०२२ निकै चुनौतीपूर्ण वर्ष बनेको नेपाल पत्रकार महासंघको निष्कर्ष, सञ्चार संस्था र पत्रकारमाथि नयाँ–नयाँ तरिका अपनाएर आक्रमण भएको भनाइ ।
१३. महानगरमा बिदा : पोखरामा नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनको दिन भोलि पोखरामा सार्वजनिक विदा, साँझ घर–घरमा दीपावली गर्न महानगरपालिकाको आग्रह ।
१४. संयुक्त राष्ट्रसंघको आह्वान : आफ्नो ज्यान जोखिममा राखेर समुद्री यात्रामार्फत भागिरहेका हजारौं रोहिंग्याको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको आह्वान, सन् २०२२ मा मात्रै दुई हजार ४०० भन्दा बढी रोहिंग्याले बङ्गलादेश र म्यान्मार छोड्न खोजेका दाबी ।
१५. एपीएफ सेमिफाइनलमा : साविक विजेता एपीएफ क्लब २२औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश, धरान फुटबल क्लब २–० गोल अन्तरले पराजित ।















प्रतिक्रिया