१५ कार्तिक २०८३, आइतबार

राष्ट्र निर्माणमा लाग्न केपी ओलीको आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oliकाठमाडौँ, १ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले मुलुक प्राकृतिक विपत्तिमा परेका बेला दृढताका साथ राष्ट्र निर्माणमा लाग्न युवालाई आह्वान गर्नुभएको छ ।

पार्टी निकट युवा सङ्घ नेपालको २५औँ स्थापना दिवस (रजतजयन्ती) का अवसरमा आज सन्देश दिँदै उहाँले भूकम्पबाट उत्पन्न प्राकृतिक विपत्तिका बेला अत्तालिएर नभई सबैलाई हौसला दिई जनताका साथमा काममा लाग्न आग्रह गर्नुभयो । विसं २०४७ आजकै दिन ओलीकै अध्यक्षतामा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका नामबाट सङ्घको स्थापना भएको थियो । पछिल्लो अधिवेशनपछि प्ररायुसङ्घ युवा सङ्घ नेपालमा परिवर्तन भएको हो ।

ती दिनको स्मरण गर्दै उहाँले प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलन र अनेक उतारचढाव व्यहोरेको युवा आन्दोलन अब विदेश पलायन हुने तथा कुलतमा फस्ने नभई सकारात्मक दिशातर्फ राष्ट्र निर्माणमा अग्रसर हुनुपर्ने बेला आएको छ भन्नुभयो । उहाँले भन्नुभयो, “आज लाखौँ युवा यसको झन्डामुनि गोलबद्ध भएका छन्, राष्ट्रिय रुपमा यसको छवि बढेको छ र अन्तर्राट्रियस्तरमा व्यापक सम्बन्ध विस्तार भएको छ, यसले हामीलाई गौरवान्वित पनि बनाएको छ, म युवा नेतृत्व र सम्पूर्ण युवा साथीलाई अझै मेहनतपूर्वक काममा लाग्न अनुरोध गर्दछु ।”

सङ्घले स्थापना दिवसका अवसरमा आज वसन्तपुर क्षेत्रमा सरसफाइ कार्यक्रम गर्दैछ । प्ररायुसङ्घ र युवा सङ्घको नेतृत्व केशव स्थापित, उदयराज पाण्डे, गोकर्ण विष्ट, महेश बस्नेतले गरिसक्नुभएको छ । रासस