
काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले तमु ल्होसारका लागि बजेट बिनियोजन गर्ने बताएका छन् ।
तमु ल्होसारको अवसरका काठमाडौंको टुँडीखेलमा बिहीबार आयोजित कार्यक्रममा ‘प्रचण्ड ‘ले ल्होसारका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्वता जनाएका हुन् ।
यस्तै, बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटवार्तामा सरकारको साझा न्यूनतम कार्यक्रम र मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको थियो ।
हेरौँ बिहीबार दिनभरका समाचारका मुख्य मुख्य हेडलाइनहरु-
१. प्रधानमन्त्रीको प्रतिबद्वता : तमु ल्होसारका निम्ति सरकारले आवश्यक बजेट छुट्टयाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्वता, तमू समुदाय र उनका पूर्खाले आर्जन गरेको गौरवशाली परम्परालाई उच्च सम्मान गर्न चाहेको धारणा व्यक्त ।
२. दु:खद निधन : कम्बोडियाको ग्राण्ड डायमण्ड सिटी क्यासिनोमा आगलागी हुँदा बाँच्ने प्रयासस्वरूप १२ तला माथिबाट हाम फालेका झापाका निराकर पाण्डेको घटनास्थलमै मृत्यु, पाण्डेसहित २४ जनाको गयो ज्यान ।
३. प्रचण्ड र ओलीबीच भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, सरकारको साझा न्यूनतम कार्यक्रम र मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल ।
४. मोबाइल ल्याउन पाउने : प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको निर्देशनपछि विदेशबाट सर्वासाधारणले ल्याउने मोबाइलको कर तिर्नुपर्ने निर्णय रोकियो, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्कालका लागि स्थगित ।
५. खोप ल्याउन पहल : फेरि कोरोना संक्रमण बढ्ने जोखिमसँगै सरकारले सुरू गर्यो बुस्टर डोज खोप ल्याउने प्रक्रिया, खोप उपलब्ध गराइदिन कोभ्याक्सलाई पत्राचार ।
६. प्रधानमन्त्रीलाई बधाई पत्र : भारतीय समकक्षी नरेन्द्र मोदी र चिनियाँ समकक्षी लि खछ्याङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पठाए बधाई सन्देश, नेपालको शान्ति र स्थिरताका लागि असल छिमेकीको नाताले निरन्तर सहयोग गर्ने चिनियाँ प्रधानमन्त्री खछ्याङको बचनबद्धता ।
७. खनाल–यादव भेट : नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता, वाम एकता गरेर अगाडि बढ्न खनाललाई यादवको सुझाव ।
८. सरकारमा जानेबारे छलफल : सरकारमा सहभागी हुने विषयमा छलफल गर्न जनता समाजवादी पार्टीले बोलायो राजनीतिक समितिको बैठक, सरकारमा कस्तो अवस्थामा सहभागी हुने भन्ने निर्णय लिने तयारी ।
९. सोडारी बने संसदीय दलको नेता : नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी सर्वसम्मत चयन, दलको उपनेतामा प्रकाश रावल र प्रमुख सचेतकमा नरेश शाही चयन ।
१०. राप्रपा नेपालको बैठक माघमा : राप्रपा नेपालको केन्द्रीय समिति बैठक माघ ९ र १० गते बस्ने, निर्वाचन समीक्षाका साथै समसामायिक राजनीतिक विषयवस्तुमा छलफल गरिने ।
११. केरुङ–काठमाडौं रेल : केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ प्राविधिक टोलीले एक साताभित्रमै ‘फिल्ड सर्भे’को काम थाल्ने, नेपाली जनशक्ति तयार नभएपछि जनकपुरदेखि जयनगरसम्म रेल सञ्चालनका लागि भारतीय रेल्वे कम्पनी कोंकणको म्याद एक महिना थप ।
१२. स्पष्टीकरण माग : समीक्षा बैठकमा उपस्थित नभएको भन्दै बीपी प्रतिष्ठानका रजिष्ट्रार सूर्य सङ्ग्रौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोध्यो स्पष्टीकरण, २४ घण्टाभित्र लिखित स्पष्टीकरण पठाउन कडा निर्देशन ।
१३. पुर्पक्षका लागि कारागार चलान : बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले आत्मदाह गरेको प्रकरणमा मुछिएका सुधन संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंको आदेश, आत्महत्या दुरुत्साहन कसुरमा दोषी ठहर भए पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने ।
१४. पेलेको निधन : ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन, विश्वकै फुटबल क्षेत्रमा अपुरणीय क्षति ।
१५. पहिलो जित : काठमाडौंमा जारी नेपाल टी–ट्वेन्टी लिगमा पाँचौ हारपछि पोखरा एभेन्जर्सको पहिलो जित, फारवेस्ट युनाइटेड ३ विकेटले पराजित ।















प्रतिक्रिया