
काठमाडौं, १२ पुस । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले काठमाडौंमा बस्न डेरा खोज्न गार्हो भएको बताएका छन् ।
सप्तरी-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका राउतले काठमाडौंमा बस्न डेरा खोजिरहेको तर नपाएको बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै राउतले आज पनि डेरा खोज्न जान लागेको उल्लेख गरेका छन् ।
घ्याम्पे डाँडास्थित पाइलटबाबा आश्रमको तस्वीर राख्दै राउतले भनेका छन्ः
शुभप्रभात ! काठमाडौं बस्न डेरा/घर खोज्नै गार्हो, आज पनि जाँदैछु। बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै #डाँडाकाँडातिर बसौंबसौं लाग्ने – कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू। घ्याम्पे डाँडास्थित #पाइलटबाबा आश्रम गत शनिबार जाँदाको तस्वीर।
४ मंसिरमा भएको आमनिर्वाचनमा प्रत्यक्षमा एक सिट र समानुपातिकमा ५ सिट गरेर ६ सिट जितेको जनमत पार्टी हालै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा गएको छ ।












प्रतिक्रिया