३० कार्तिक २०८३, सोमबार

श्रीमती हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ९ पुस । यहाँको राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले शुक्रबार सर्वस्वसहित जन्म कैद सजाय गरेको छ ।

जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित जन्म कैद सजाय गरेको अदालतले जनाएको छ ।

राजबिराज नगरपालिका–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरीबस्ने दम्पतिबीच आपसी विवाद हुँदा ४० वर्षीया पत्नी गीतालाई हिरालालले हत्या गरेका थिए ।

राजविराज नगरपालिका–१ स्थित प्राङ्गरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेजभित्र गीताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गत मंसिर १० गते शव फेला परेको थियो । आरोपित मंसिर १० गते नै पक्राउ परेका थिए ।

मृतकका बाबु गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मङ्सिर १० गते किटानी उजुरी दिएका थिए । आरोपितले जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयका साथै जिल्ला अदालतसमेतमा हत्या गरेको स्विकार्दै साविती बयान गरेपछि अदालतमा अभियोगपत्र दायर भएलगत्तै फैसला गरिएको अदालतले जानकारी दिएको छ ।