काठमाडौं, १८ जेठ । नेपाल प्रहरीको एआइजी बढुवामा असन्तुष्टि जनाउँदै पाँच जना डीआइजीले उजुरी दिएका छन् ।
प्रहरी नियमावली अनुसार एक साताभित्र पुनरावलोकनका लागि निवेदन दिने अवसर भएपछि नेपाल प्रहरीको एआइजी बढुवामा सिफारिसमा नपरेका ५ जना डिआइजीहरुले आइतबार लोकसेवा आयोग समक्ष उजुरी दिएका हुन् ।
बढुवामा छुटेका २ नम्बरका डीआइजी नारायण बास्ताकोटी, गणेश राई, यादब अधिकारी, परशुराम खत्री र सुशीलवरसिंह थापाले आर्थिक चलखेल भएकोले नियम अनुसार नभएको आरोप लगाउँदै लोकसेवा पुनरावलोकनका लागि उजुरी दिएका हुन् । बढुवाकै लाइनमा रहेका डीआईजी विश्वराजसिंह शाहीले भने उजुरी दिएनन् । हालै संशोधित प्रहरी नियमावली २०७१ मा बढुवामा चित्त नबुझे पुरावलोकन गर्न पाइने प्रावधान छ । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षमा रहने समितिमा मुख्य सचिव र कानुन सचिव सदस्य छन् ।
बढुवा समितिले गत सोमवार राजेन्द्र सिंह भण्डारी, सुरेन्द्रवहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्र्राचार्य र केदार साउदलाई बढुवाको लागि सिफारीस गरेको थियो । उजुरी परेको १५ दिनभित्र समितिले उजुरीको टुंगो लगाउनुपर्ने प्राबधान रहेकाले क्याबिनेटमा डिआइजी बढुवाका लागि कम्तिमा दुई साता लाग्ने भएको छ ।













प्रतिक्रिया