५ कार्तिक २०८३, बिहिबार

उपत्यकाको जनजीवन सामान्य बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paal-muniko-lifeकाठमाडौँ, ३१ वैशाख । भूकम्पको पराकम्पन क्रमशः कम हुँदै गएपछि उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।

वैशाख १२ गते गएको भूकम्पबाट जनजीवन सामान्य बन्दै गए पनि मङ्गलबार दोलखा केन्द्रविन्दु बनाएर गएको ६.८ रिक्टर स्केलको पराकम्पनपछि जनमानसमा फेरि ठूलो भूकम्प आउने हो कि भन्ने त्रास भने पूर्णरुपमा हट्न सकेको छैन ।

“ठूलो भूकम्प गएपछि यतिबेला ठूलो पराकम्पन जान्छ वा सानो पराकम्पन जान्छ भनेर पूर्व अनुमान गर्न सकिँदैन, ठूलो भूकम्प आएपछि स–साना पराकम्पन महिनौँसम्म जानसक्छ”, राष्ट्रिय भूकम्प मापन केन्द्रले प्रमुख लोकविजय अधिकारीले भन्नुभयो ।

उपत्यकामा भूकम्पको डरले मङ्गलबारदेखि बन्द भएका पसलसमेत आंशिक रुपमा मात्र खुलेका छन् भने सवारी साधन पनि कम मात्र चलिरहेका छन् ।

बिहानै दुई धक्का

आज बिहान दोलखा र काभ्रे केन्द्र भएर दुई पराकम्पन गएको छ । बिहान ३ बजेर १३ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.१ रिक्टर स्केल र ३ बजेर २३ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्र भएर ५.० रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यही वैशाख १२ गतेदेखि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका २१५ वटा भूकम्प गएको र स–साना पराकम्पन अझै जान सक्ने केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पपछि उपत्यका नजिकका जिल्ला सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, भक्तपुर केन्द्रविन्दु बनाएर चार रिक्टर स्केलमाथिका पराकम्पन दैनिकजसो गइरहेका छन् ।

केन्द्रका प्रमुख अधिकारीका अनुसार ठूलो भूकम्प गएपछि स–साना कम्पन महिनौँ गइरहन्छ । सन्तुलन मिलाउनका लागि पनि पराकम्पन गइरहनुपर्छ । पराकम्पन पनि कति ठूलो जान्छ भन्ने पूर्व अनुमान गर्न नसक्ने भएकाले सुरक्षित स्थानकै खोजी गरेर बस्नुपर्छ ।