नयाँ दिल्ली, २९ वैशाख । नेपालको जेलमा रहेको एकजना भारतीय नागरिकलाई भारतमा पक्राउ गरिएको भारतको एक दैनिक पत्रिकाले जनाएको छ ।
भारतमा कयौं आतङ्ककारी क्रियाकलापमा संलग्न भएका भनिएका उनलाई केही वर्षदेखि नेपालको जेलमा राखिएको थियो ।
ती व्यक्ति नेपालमा हालैमात्र गएको महाभूकम्पपछि भाग्न सफल भएको र भागरे भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा पुगेका बेला नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको नयाँ दिल्ली प्रहरीलाई उद्धृत गर्दै भारतीय पत्रिका दि हिन्दुस्तान टाईम्सले जनाएको छ ।
आतङ्ककारी क्रियाकलापमा संलग्न रही भारतीय प्रहरीले विगत लामोसमयदेखि खोजी गरिरहेका ती व्यक्तिलाई केही समयअघि नेपालमै पक्राउ गरी सिन्धुपाल्चोक जेलमा राखिएको थियो ।
गएको अप्रिल २५ मा नेपालमा आएको ठूलो भूकम्पपछि उक्त जेलको पर्खाल भत्किएपछि उनी भाग्न सफल भएका थिए ।
उनी भागेको सूचनाको आधारमा भारतीय प्रहरीले गरेको खोजीका क्रममा भारतको उत्तरप्रदेशमा उनलाई पक्राउ गरिएको थियो ।
इन्डियन मुजाहिद्दीन नामक एक सशस्त्र समूहमा सदस्य रहेको बताइएको उनी भारतीय प्रहरीको पनि सर्वाधिक खोजीको सूचीमा रहेका थिए ।
उनलाई भारतीय उत्तर प्रदेश राज्यको बहराइचमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । नयाँ दिल्ली प्रहरीको एक विशेष टोलीले ४९ वर्षीय ती इरफान अहमदलाई पक्राउ गरेको जनाएको हो ।
सन् १९९२ मा भएको बाबरी मस्जिद काण्ड र त्यसपछिका समयमा पनि रेलमा भएका कयौं आतङ्ककारी हमला र हत्या हिंसामा उनको हात रहेको प्रहरीको प्रतिवेदन छ ।
उनी लस्कर ए तोएबा नामक आतङ्ककारी समूहमा पनि मिलेर हत्या हिंसामा संलग्न हुने गरेको पाइएको भारतीय प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
सिन्धुपाल्चोकको जेलमा रहेका उनीसँगै कम्तीमा पनि २०० जना कैदी भागेका थिए । भूकम्पका कारण उक्त जेलको पर्खाल भत्किएपछ उनीहरु भागेको बताइएको छ ।
उनलाई नेपालमा भने नेपाली नागरिकताका लागि नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो ।
सन् २०१० मा उनले यस्तो नक्कली कागजात प्रयोग गरेको आरोपमा उनको खोजी भएको र त्यसपछि उनलाई नेपालमा नै पक्राउ गरी थुनामा राखिएको बताइएको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया