
काठमाडौं, १७ मंसिर । नेकपा एमालेका नेता भीम रावल र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच सवाल–जवाफ भएको छ ।
बिहीबार अमेरिकी दूतावासका राजदूत डीन थम्पसनसँग भएको बालेनको भेटलाई लिएर उनीहरूबीच सामाजिक सञ्जालमा सवाल–जवाफ भएको हो ।

नेता रावलले अमेरिकी राजदूत थम्पसनले मेयर साहलाई भेटेकोमा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर भेटेको हो कि होइन ? भन्दै प्रश्न गरेका थिए ।

मेयर बालेनले रावलले उठाएका प्रश्नलाई खण्डन गर्दै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आफूलाई भेट्न आएपछि राजदूत थम्पसनसँग भेटेको दाबी गरेका थिए । अमेरिकी राजदूतले पटक पटक भेट्न खोज्दा आफूहरुले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउन भनेको र अनुमति लिएर आएपछि भेट दिएको बालेनको दाबी छ ।

‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ ।’ मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका थिए ।
मेयर बालेनको जवाफपछि नेता रावले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेटेको हो ? भन्दै फेरि अर्को प्रश्न गरेका छन् । नेता रावलले राजदूतले महानगरका मेयरलाई भेटेको विषयमा उठाएको प्रश्नको जवाफ मेयर साहले आरोपसहित फर्काएपछि अर्को प्रश्न गरेका हुन् ।
रावलले मेयर बालेनको अमेरिकी राजदूतसँगको भेटवार्ता परराष्ट्र मन्त्रालयको स्वीकृतिमा भएको हो कि होइन भन्दै प्रश्न गरेका थिए । तर मेयर बालेनले “तपाईहरु जस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैन” भन्ने असान्दर्भिक जवाफ फर्काएर उत्तेजना प्रकट गरेको नेता रावलको भनाइ छ ।

‘नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौं भन्ने मेरो भनाईले घोचेको हो कि ? म फेरी पनि बालेनजीलाई प्रश्न गर्छु- के तपाईले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेट्नु भएको हो ? तपाईले भन्नु भए झैं “उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएपछि भेटेको हो भने उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएको जानकारी तपाईलाई कसरी भयो ? परराष्ट्र मन्त्रालयको पत्रबाट ? फोनबाट वा इमेलबाट ? पत्र वा इमेल भए त्यसको प्रतिलिपि वा फोनबाट भए स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्नुहोस् । आवेश, उत्तेजना र ओठेजवाफ जनउत्तरदायी प्रणालीसंग मेल खान्न ।’ नेता रावलले भनेका छन् ।












प्रतिक्रिया