१ मंसिर २०८३, मंगलबार

एनपीएलको पिचबारे खेलाडीले नै उठाए प्रश्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । टी–२० क्रिकेट भन्नेबितिक्कै चौका छक्काको वर्षा हुने भनेर समर्थक र खेलाडी सबैले सोचेका हुन्छन् । ब्याटरहरु छक्का चौका हिर्काउनका लागि तयार हुन्छन् र हिर्काउछन् पनि । किनकि छोटो फम्याटको क्रिकेटमा बढीभन्दा बढी रन बनाउने जुनसुकै टिमको पनि लक्ष्य हुन्छ ।

तर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा रन बनाउनका लागि खेलाडीलाई सकस भएको छ ।

एनपीएल खेल्न विश्व क्रिकेटका स्टारहरु नेपालमा पहिलोपल्ट आएका छन् । आक्रामक ब्याटिङका लागि परिचित वेस्ट इन्डिजका आन्द्रे रसेलसँगै अस्ट्रेलिया डेविड वार्नर, दक्षिण अफ्रिका डेविड मिलर, जिम्वावेका सिकन्दर रजा, र पूर्वविश्व नम्बर एक बंगलादेशी अलराउन्डर सकिब अल हसन, इंगल्याण्डका मोइन अली,डेभिड मलानलगायतका चर्चित क्रिकेटरले एनपीएल खेले ।

चर्चित खेलाडीले नेपाल आएर अपेक्षाअनुरूप रन बनाउन सकेनन् । रन बनाउन नसक्दा विदेशी खेलाडीले पिचको दोष लगाएका छन् । पिच असाधारण भएको भन्दै खेलाडीले प्रश्न गर्ने गरेका छन् ।

चितवन राइनोजका कप्तान सिकन्दर राजाले नेपालको क्रिकेट पिच (विकेट) सुधार गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै राजाले नेपालले विश्वका शीर्ष टोलीहरूसँग साँचो अर्थमा प्रतिस्पर्धा गर्ने हो भने ब्याटिङका लागि अझ राम्रा पिच बनाउनुपर्ने बताए ।

उनले भने, “अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङका लागि राम्रा र ‘ट्रु’ पिच हुन्छन् । नेपाली खेलाडीले अर्को स्तरमा पुग्न २०० रन बनाउन र बलरहरूले १८०/२०० रन जोगाउन सिक्नुपर्छ । यो फ्रेन्चाइज लिगको मात्र होइन, नेपाली राष्ट्रिय टिमकै भविष्यको कुरा हो ।”

राजाले राम्रा पिचमा खेल्दा बलरहरूको कौशल बढ्ने र ब्याटरहरूको आत्मविश्वास पनि उच्च हुनुका साथै दर्शकले चौका र छक्का हेर्दा खेल अझ रोमाञ्चक हुने बताए।

यस्तै, जिमी निशम, मोइन अली, डेभिड मलानले पनि पिचप्रति प्रश्न गरेका थिए ।

लिग चरणमा कुल २८ खेल सम्पन्न हुँदा ९ इनिङमा १०० रन समेत बन्न सकेन । भने २४ इनिङमा १३० रनभन्दा कम रन बन्यो ।

उसो त रन नबनेको पनि होइन् । कीर्तिपुर मैदानमै सर्वाधिक रन बन्ने रेकर्ड समेत बनेको छ । काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले एनपिएल इतिहासकै सर्वाधिक २२४ रनको योगफल बन्यो ।

काठमाडौंका कप्तान करण केसीको भने पिचबारे मिश्रित प्रतिक्रिया रहेको छ । उनले भने, “पिचमा जम्नसक्यो भने सजिलै रन बनिरहेको छ । सबै कुरा पिचलाई पनि दोष लगाउन मिल्दैन् ।”

लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् ।

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै