
काठमाडौं, ३ मंसिर । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्थिर समयमा ३० सञ्चारमाध्यमबाट आचारसंहिता उल्लंघन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
स्थिर अवधि सुरु भएको समय गएराति १२ बजेदेखि शुक्रबार अपराह्नसम्म आचारसंहिता उल्लंघन गरेकामध्ये ६ सञ्चारमाध्यमले भूलसुधारसमेत गरेका छन् ।
प्रेस काउन्सिल नेपालले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दुईवटा रेडियो, ११ वटा पत्रपत्रिका, १६ वटा अनलाइन सञ्चारमाध्यम र एक वेबपोर्टलबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको हो ।
काउन्सिलले आचारसंहिता उल्लंघन गर्ने छापा माध्यमलाई स्पष्टीकरण माग गरी त्यस्ता सामग्रीको पुनरावृत्ति नगराउनेतर्फ सजग गराएको छ । यस्तै रेडियो र टेलिभिजनलाई क्षमायाचनासहित भूलसुधार गर्न र उक्त सामग्री पुनः प्रसारण नगर्न/नगराउन भनेको छ । अनलाइन सञ्चारमाध्यमको हकमा तत्काल हटाई काउन्सिललाई जानकारी गराउन निर्देशन दिइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलको निर्देशनपश्चात् ६ वटा सञ्चारमाध्यमले क्षमायाचनासहित सामग्री हटाई आगामी दिनमा आचारसंहिता पालनामा थप सजगता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।













प्रतिक्रिया