
काठमाडौं, २८ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेका छन् । दुई देशबीचको सम्बन्ध थप बिग्रँदै गएकाबेलामा दुई नेताबीच भेटवार्ता भएको हो ।
पछिल्लो समय ताइवानका विषयलाई लिएर दुई देश आमनेसामने भइरहेका छन् । मङ्गलवार सुरु हुने जी२० बैठकका लागि इन्डोनेसियाको बालीमा पुगेका दुई नेताबीच भएको भेटवार्तामा दुई देशबीचको असमझदारीलाई समाधान गरी अमेरिक चीन द्वन्द रोक्नुपर्नेमा जोड दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भेटवार्तामा अमेरिकी राष्ट्रपति बाइडनले ताइवानका विषयमा आफूहरूले आफ्ना रेड लाइन के हुन् भन्ने तय गर्ने बताएका छन्। बाइडनले दुई देशबीच खुला सम्पर्क सुत्र कायम गर्न प्रतिबद्ध रहेकोू भन्दै त्यसले दुई देशलाई जलवायु परिवर्तन र असुरक्षा सहितका आपत्कालीन विश्व मुद्दामा सहकार्य गर्न सम्भव गराउने बताए।
यस्तै, चिनियाँ राष्ट्रपतिले सीले पाँच वर्षअघि आफूहरू स्विजरल्याण्डको डाभोसमा प्रत्यक्ष भेटेपछि अनलाइन संवादहरू जारी राखेको बताए। तर उनले प्रत्यक्ष भेट्ने कुराको बेग्लै महत्त्व हुने उल्लेख गरे ।
‘हामीले अनुभवहरू हासिल गर्यौँ तर पाठहरू समेत सिक्यौँ। इतिहास सबैभन्दा ठूलो पुस्तक हो र हामीले इतिहासलाई ऐनाको रूपमा हेर्नुपर्छ,’ सीले बाइडनलाई भने। ‘हाल अमेरिका-चीन सम्बन्ध कठिन अवस्थामा छ र हामी यसबारे निकै चिन्तित छौँ‘दुई मुख्य देशका नेताका हैसियतले हामीले सही बाटो पहिल्याउनुपर्ने छ।’













प्रतिक्रिया