
पोखरा, १८ जेठ । पोखरामा सम्पन्न आदिबासी जनजाति युवा महासंघको महाधिवेशनले ज्ञानेन्द्र पुनलाई युवा महासंघको अध्यक्षमा सर्बसम्मत चयन गरेको छ ।
शनिबारदेखि दुईसम्म चलेको महाधिवेशनले केहि महत्वपूर्ण पदहरुमा सहमति र केहिमा निर्वाचन नै गरेको छ ।
सहमतिमा अध्यक्षमा निवर्तमान महासचिव ज्ञानेन्द्र पुनमगरको नेतृत्वमा वरिष्ट उपाध्यक्ष महेन्द्र लिगल, महिला उपाध्यक्ष जुनु पुनछन्त्याल, अन्य उपाध्यक्षहरुमा क्रमश: रामकुमार राई, रामबहादुर थापामगर, उदय चौधरी, गोपाल पुन, महासचिवमा सुदर्शन चौधरी र प्रशिक्षण सचिवमा कुमार प्रधानलाइ सर्बसम्मत चयन गरेको छ । अन्य पदहरुमा भने निर्वाचन भएको छ ।
‘आदिबासी जनजाति युवाहरुको साझा अभियान, अधिकार र रोजगारीका लागि पहिचान सहितको संघीय संविधान’ भन्ने नाराका साथ सम्पन्न महाधिवेशनको बन्दसत्रले महासचिवको सांगठनिक तथा कोषाध्यक्षको आर्थिक प्रतिवेशन पारित गरेको छ । महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापाले पहिचानसहितको अधिकार प्राप्त नभए देश दुर्घटनामा जाने बताए ।
यथास्थितीवादी नेताहरुले जानी जानी पहिचान र संघीयताको विरुद्धमा गलत भ्रम फिजाइरहेको आरोप लगाउदैं आदिबासी जनजातिको अधिकार प्राप्तिका लागि एकताबद्ध भएर आन्दोलन गर्न जरुरी रहेको उनले बताए । पहिचान र संघीयताको बहानामा यथास्थितीवादीहरुले पहिलो संविधानसभा भंग गराए, अहिले आदिबासी जनजातिका अधिकारका विरुद्ध षडयन्त्र गरिरहेको उनको आरोप छ ।
अब आदिबासी जनजाति युवाहरुले विदेश होइन, नेपालकै हरेक निकायमा प्रवेश गर्न पहल गर्नुपर्नेमा जोड दिए । शुभकामना मन्तव्य व्यक्त गर्दै बिशेष अतिथि आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्रकुमार कुमालले पहिचान विरुद्धको संविधान बने जलाउने चेतावनी दिए ।
‘हाम्रो पहिचान स्वीकार हुँदैन भने हामीलाई संविधान मान्न बाध्यता छैन, उनले भने आदिबासी जनजाति महासंघ सडक र कानुनी दुवै आन्दोलनको तयारीमा रहेको छ ।’ आदिबासी जनजाति युवा महासंघका संस्थापक अध्यक्ष जगत रेश्मीमगरले युवा महासंघ आदिबासी जनजातिको पहिचान सहितको अधिकारका लागि स्थापित भएकाले जबसम्म अधिकार प्राप्त हुदैन संघर्षरत रहनुपर्ने बताए । युवा महासंघले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
महाधिवेशनको निर्वाचन उपमहासचिव, संगठन सचिव, प्रचारप्रसार सचिव, कोषाध्यक्ष तथा बागमति अञ्चल सदस्य पदका लागि भएको हो । भरै साँझसम्ममा सबै नतिजा आईसक्ने भर्खरै अध्यक्ष पदमा निर्वाचित ज्ञानेन्द्र पुनले जानकारी दिएका छन् । महाधिवेशनमा देशभरबाट करिब चार सय प्रतिनिधि पर्यवेक्षकको उपस्थिती रहेको थियो ।













प्रतिक्रिया