
काठमाडौं, २४ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महिलाको हक अधिकारका लागि सबैभन्दा पहिला आवाज उठाउने पार्टी एमाले भएको बताएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा आयोजित महिलासँग अन्तरक्रिया कार्यक्रममा पोखरेलले महिलाहरू चुलो–चौकामा मात्रै सीमित हुने गरेकामा एमालेले नै पुरुषसरह अधिकार पाउनुपर्छ भनेर आवाज बुलन्द गरेको बताएका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेलले महिलालाई ३३ प्रतिशत अधिकार दिनुपर्छ भनेर तत्कालीन एमालेकी सांसद विद्यादेवी भण्डारीले महिला सांसदहरूलाई एकजुट बनाएर संसदमा अध्यादेश लगेको स्मरण गराए । पितृसत्तात्मक सोचबाट अगाडि बढिरहेको समाजमा महिलाको पनि अंश र वंशमा अधिकार हुनुपर्छ भनेर एमालेको नेतृत्वमा अभियान नै चलाएको पोखरेलको भनाइ छ ।
एमालेबाट नै सर्वप्रथम नेपालको राष्ट्रप्रमुखमा महिला पुगेको बिर्सन नहुनेमा जोड दिँदै उपाध्यक्ष पोखरेलले महिलाहरूको हक अधिकारका लागि लड्ने पार्टी एमालेमात्रै रहेको बताए । महिलाको हक अधिकारका लागि थुप्रै काम गर्न बाँकी रहेको भन्दै पोखरेलले मंसिर ४ को निर्वाचनमा एमालेलाई विजयी गराउन आह्वान समेत गरे ।















प्रतिक्रिया