काठमाडौं, २८ वैशाख । अन्य पार्टीले झैँ नेकपा (एमाले) ले पनि भूकम्पपीडितका लागि खोज, उद्धार, राहत, पुनःस्थापनाजस्ता काममा स्वयंसेवक परिचालनका साथै देशभरका जिल्ला कमिटीसँग दाल र चामलजस्ता खाद्यान्न सङ्कलन अभियान सञ्चालन गरेको छ ।
विपत्तिको यस घडीमा मानवीय रुपमा सहयोग पु¥याउन एमालेले योजनाबद्ध रुपमा अन्तरपार्टी निर्देशन जारी गरी राहत वितरणमा तीव्रता दिएको हो ।
घर भत्केर खाद्यान्न पुरिएका कारण लमजुङ, गोरखा, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र ओखलढुङ्गासम्मका जिल्लामा जनजीवन अत्यन्तै कष्टकर र दुरुह बनेकाले यस विषम परिस्थितिमा राहत सङ्कलन गर्ने र पीडितसमक्ष पु¥याउन निर्देशन दिइएको एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
पार्टी स्थायी कमिटीको यही वैशाख २० गतेको बैठकको निर्णयबमोजिम झापादेखि कञ्चनपुरसम्मका जिल्ला कमिटीले अबिलम्व खाद्यान्न (चामल र दाल) सङ्कलन गरी प्रभावित जिल्लामा पठाउन निर्देशन दिइएको बताउनुभयो । सोबमोजिम प्रत्येक जिल्लाले न्यूनतम १० ट्रक (हजार क्वीन्टल) चामल, २५ केजीका अलग–अलग बोरामा प्याकिङ गरी पठाउन एमालेले आग्रह गरेको छ ।
तोकिएबमोजिम खाद्यान्न (चामल–दाल) पठाइसकेपछि पनि राहत र पुनःस्थापना प्रयोजनका लागि राहत सङ्कलनलाई निरन्तरता दिने र त्यसरी सङ्कलित राहत रकम ‘नेकपा (एमाले) प्राकृतिक विपत्ति राहत कोष’को नाममा कृषि विकास बैंक, शाखा कार्यालय कालिमाटीस्थित चल्ती खाता नम्बर ०२१०३००७१७९१७०१० मा जम्मा गर्न पनि एमालेले निर्देशन दिएको छ ।
सो कोषमा पार्टी केन्द्रले रु पचास लाख रकम जम्मा गरिसकेको छ भने जनवर्गीय सङ्गठनलाई पनि निश्चित दायित्व तोकी रकम दिन भनिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
एमालेले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा भूकम्पपीडित उद्धार तथा राहत समन्वय समिति गठन गरी व्यवस्थित कार्य सञ्चालन गरिरहेको र भत्किएका घरमा अस्थायी टहरा निर्माण, स्वास्थ्योपचारलगायत कार्य गर्न देशभर दुई लाखभन्दा बढी कार्यकर्ता परिचालन गरेको छ ।
यसमा युवा सङ्घ नेपालले टहरा निर्माण र अनेरास्ववियुले भत्किएका विद्यालयमा पुनःस्थापनामा सहयोग प्रारभ गरेका छन् । शनिबार मात्रै एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुका स्थलमा खटिने स्वयंसेवकलाई बिदाई गर्नुभएको थियो ।
एमालेका विद्यार्थी फाँट प्रमुख रवीन्द्र अधिकारीले विद्यार्थी कार्यकर्ताले स्थानीय कमिटी परिचालन गरी सरकारी निकायसँग समन्वय गरी विद्यालयमा टहरा निर्माण र मनोविमर्श कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।
एमालेले कुनै पनि नागरिकलाई ‘हामी तपाईंहरूलाई भोकै बस्नु पर्ने अवस्था सिर्जना हुन दिदँैनौँ’ भन्ने सार्वजनिक विश्वास दिलाउँदै तराई–मधेसमा खाद्यान्न सङ्कलनका लागि विशेष अभियान सञ्चालन गर्ने बताइएको छ । पार्टीका तर्फबाट चीन, भियतनाम, भारत र बङ्गलादेशका भाइचारा पार्टीलाई पनि यस मामलामा आह्वान गर्ने प्रचार विभागका प्रमुख योगेश भट्टाईले जानकारी दिनुभयो ।
विपत्तिको घडीलाई राष्ट्र पुनःनिर्माणको सङ्कल्पमा रूपान्तरित गर्न विशेष ध्यान तथा असहमति र मतभिन्नतालाई थाँती राख्दै राजनीतिक सहमति निर्माण गर्ने र विपत्तिमा मिलेर सामना गर्छाैं भन्ने विश्वास दिलाउन पनि आफूहरुले सबैलाई आग्रह गर्दै आएकाले एमालेका प्रमुख भट्टराईले बताउनुभयो । रासस













प्रतिक्रिया