काठमाडौँ, १८ जेठ । संविधानसभाको आजको बैठकमा तत्कालीन राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएको सहमति र असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन २०७१ मा सभासद््हरूले बोल्नेक्रम सुरु भएको छ ।
संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले प्रस्तुत गरेको सो प्रतिवेदन एवम् सोसँग सम्बन्धित पुरक प्रतिवेदनमाथि एकीकृतरुपमा बैठकमा सभासद्हरूले बोल्ने क्रम सुरु भएको हो ।
सो छलफलमा भाग लिँदै सभासद् विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई रक्षा गर्न जतिसक्दो छिटो संविधान निर्माण गर्नुपर्छ भन्दै राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँडको कुरा गर्दा हाम्रो बहुजाती, बहुभाषा र बहुसंस्कृतिलाई ध्यान दिनुपर्छ भन्नुभयो ।
उहाँले बद्लिँदो विश्व परिवेशमा पहिचान बदलिँदै पनि जान सक्छ तर सामथ्र्य भने सधैं रहिरहने हुनाले थोरै सङ्ख्यामा प्रदेशहरू निर्माण गरेर जानुपर्छ भन्दै सङ्घीयता बारेमा अव पनि कुनै सन्देह गर्नु गर्न नहुने धारणा राख्नु भयो ।
सभासद् हितराज पाण्डेले उत्पीडित, अल्पसङ्ख्यक, पिछडिएका, गरिव, सीमान्तकृत जनताको अधिकारको लागि राज्यको पुनःसरचना आवश्यक भएको भन्दै विगतमा भएका सहमति र आयोगले दिएका प्रतिवेदनको वरिपरिमा रहेर सङ्घीयताको आधार तय गर्नुपर्छ भन्नुभयो ।
सभासद् सर्वेन्द्रनाथ शुक्लले कसैलाई पेलेर होइन शान्तिपूर्ण तरिकाबाट सबैलाई समेटेर संविधान ल्याउनुपर्छ भन्दै भौगोलिक, भाषिक, सांस्कृतिक, आर्थिक लगायतका कुरा र विगतमा राज्य पुनःसंरचना आयोगले दिएको सुझाव समेतलाई ख्याल गरेर पुर्नसरचनाको काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
सभासद् चित्रबहादुर केसीले आफूले भनेजस्तो भएन भने मान्दिन भन्नु गलत हो भन्दै सहमति जुटाएर प्रक्रियामा गएर भएपनि संविधान निर्माण गर्नुपर्छ तर त्यसका लागि सहमति आवश्यक छ भन्नुभयो ।
सभासद् ज्ञानेन्द्रबहादुर कार्कीले देशमा रहेको विविधतामा रहेको एकतालाई ध्यान दिएर राज्य पुनःसरचनाको कामलाई सार्थक बनाउन सकिन्छ भन्दै एकात्मक र केन्द्रीकृत राज्यसत्ताको संरचनालाई बदलेर सबैको सम्मान हुने गरी सङ्घीयताको स्वरुपमा लाग्नुपर्दछ जसले अहिलको राजनीतिक अवस्थालाई पनि सहि निकास दिन सक्छ भन्नुभयो ।
सभासद् डा आरजु राणाले सार्मथ्यलाई विर्सेर पहिचानलाई मात्र हेरेर सङ्घीयतामा जाँदा त्यस्तो सङ्घीयता टिक्न गाह्रो हुन्छ भन्नुभयो ।
सभासद् ध्रुव वाग्लेले सङ्घीयताले कतिपय देशलाई समृद्वि दिएको र कतिपयलाई विपत्तिको मुखमा पनि पु¥याएको दृष्टान्द दिँदै हाम्रो भूराजनीतिक संवदेनशील अवस्थामा रहेको देशको राज्य पुनःसरचना आफ्नै मौलिक ढङ्गले गर्नुपर्दछ भावनामा बगेर होइन भन्नुभयो ।
सभासद् रामकृष्ण यादवले सामाजिक संरचना र सद्भाव नखलबलिने गरी सामाजिक, भौगोलिक ऐतिहासिक, बहुजातीय, बहुभाषीय र बहुसंस्कृतिलाई ध्यान दिएर देशको आर्थिक अवस्थाले धान्न सक्ने थोरै सङ्ख्याको राज्य बनाउनुपर्दछ भन्नुभयो ।
सभासद् भरतकुमार शाह, परशुराम तामाङ, शिवलाल थापा र लक्ष्मणलाल कर्णले पनि राज्य पुनःसरचनाको विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । सो प्रतिवेदनमाथि अहिले छलफल जारी छ ।















प्रतिक्रिया