१५ कार्तिक २०८३, आइतबार

‘पहाडमा पहिरो गए तराईले थेग्छ’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwa-surung
फाइल तस्वीर

 

– सीताराम अधिकारी

गजुरी (धादिङ), २६ वैशाख । पहाडलाई परेको दुःखमा तराईका आमाहरुले घर घरबाट सहयोग उपलब्ध गराएका छन् ।

सिरहा जिल्लाका गृहिणीले पहाडमा आइलागेको विपत्तिलाई सामना गर्नका लागि नुन, तेल, चिउरा, आलु, प्याज, कपडालगायत सामग्री सहयोग उपलब्ध गराएका छन् । तराईमा बस्ने गरिबहरुले समेत आफूले सकेको थोरै थोरै सामान पहाडका लागि पठाएका थिए । धेरै जनाले सङ्कलन गरी पहाडमा ल्याइएको सिरहाबाट राहत सङ्कलन गरेर यहाँ आउनुभएकी रेणु कर्णले बताउनुभयो । “पहाडलाई पर्दा तराईले सहयोग नगरे कसले गर्छ ? एकलाई पर्दा अर्काले सहयोग गर्नु हामी नेपालीको संस्कृति नै हो” कर्णको भनाइ छ ।

तराईका आमाहरुले घर घरबाट सङ्कलन गरी दाल, चामल, चिउरा, नुन, तेल, गेडागुडी, आलु, लुगालगायत सामग्री सङ्कलन गरेर पठाएका छन् । उनीहरुले घरमा भएको थोरै थोरै सामग्रीसमेत पहाडमा खानेकुराको अभावमा सुत्केरी र गर्भवतीको ज्यान जोगियोस् भनेर पठाएको महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य देवकुमारी महराले बताउनुभयो ।

सुत्केरी र गर्भवतीका लागि आवश्यक तेल, चामल, चिउरा, दाल, गेडागुडी, आलु, नुन आदि सामग्री जिल्लाको खानीखोलामा ल्याएर धादिङमा सुत्केरी र गर्भवतीका लागि राहत वितरणमा काम गरिरहेकी राधिका सापकोटालाई हस्तान्तरण गर्दै महराले तराईका आमाहरुले ल्याएको सामग्री गाउँसम्म पु¥याउन आग्रह गर्नुभयो ।

यसैगरी जिल्लास्थित केवलपुर गाविसमा पुगेर पूर्वमन्त्री अनिल झाले सहयोग गर्दै तराईले पहाडलाई र पहाडले तराईलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
निजी क्षेत्रले पुनःसंरचनामा काम गर्ने

नेपाल उद्योग वाणिज्य महासङ्घले पुनःसंरचनामा सरकारसँग मिलेर काम गर्ने जनाएको छ । जिल्ला सदरमुकाम आइपुगेको महासङ्घको टोलीले सरकारको उपयुक्त नीति र साझेदारीका काम गर्ने योजना भएमा आफूहरु पनि काम गर्न इच्छुक रहेको बताएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कावा अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष कुशकुमार जोशीलगायत सम्मिलित एक टोली जिल्ला सदरमुकाम आई जिल्लाका पार्टी प्रमुख र उद्योगीसँग भेट गरी सस्तो मूल्यमा भूकम्प प्रतिरोधात्मक घर बनाउन सहयोग गर्ने जनाएको छ ।

स्थानीय सामग्रीको बढी प्रयोग गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्ने र पेसा व्यवसायबाट पन्छिएकालाई तुरुन्त आफ्नो व्यवसायमा फर्कने वातावरण बनाउन लागिपर्ने मुरारकाले बताउनुभयो ।

गाउँमा घर, डेरामा बस्न नहुने भएकालाई प्राथमिकता दिई स्थानीय निकायसँग मिलेर काम गर्ने तर सरकारले उचित नीति र कार्ययोजना ल्याउनुपर्ने महासङ्घका पूर्वअध्यक्ष जोशीको भनाइ छ ।

भूकम्पपीडितलाई ‘ब्याक टु बिजनेस’ गराउन आफूले लगानी गर्ने बताउँदै जोशीले गाउँघरमै पाइने बाँस, ढुङ्गा र माटाको प्रयोग गरी रु एक लाखमा घर बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति रामनाथ अधिकारी, नेकपा(एमाले)का अध्यक्ष भूमि त्रिपाठी, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष रामबहादुर भण्डारी, जिविसका पूर्वसभापति खेम लोहनीले जिल्लाको सङ्कट टार्नका लागि निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताउँदै जिल्लामा करिब ७० हजार घर नष्ट भएको र ३५ हजार परिवारलाई करिब छ महिनासम्म खाने व्यवस्था गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । रासस