
काठमाडौं, २७ असोज । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
पोखरामा बिहीबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो । गण्डकीले दिएको २७ रनको लक्ष्य पछ्याएको एपीएफले १०६ बल बाकी रहँदै १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफको जितमा कप्तान सिता राना मगरले अविजित १२ तथा ईन्दु बर्माले अविजित ९ रन बनाइन् ।
गण्डकीका लागि शृष्टि जैसीले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले १८ दशमलव २ ओभरमा अलआउट हुँदै २६ रन बनाएको थियो । जितसँगै एपीएफ ४ अंक जोड्दै समूह एको शीर्ष स्थानमा कायम रहेको छ ।
त्यस्तै पोखरा क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै मधेशले दोस्रो जित निकालेको छ । मधेशले दिएको ९२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर ७६ रन मात्र बनायो ।
सुदूरपश्चिमका लागि ऋतु कनौजियाले २७ तथा रुबि पोद्दारले १२ रन बनाइन् । सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमलाई कम रनमा नै रोक्न अनुराधा चौधरी, सन्तोषी चौधरी र शान्ता चौधरीले समान २÷२ तथा सरस्वती कुमारीले १ विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो ।
जितसँगै मधेश २ खलमा ४ अंक जोड्दै समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।















प्रतिक्रिया