
काठमाडौं, २१ असोज । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न त्यतिबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपाल दुई भाइ जस्तै बनेका थिए । माओवादी र एसबीच पार्टी एकीकरणसम्मकै कुरा चलिरहेको चर्चा पनि हुने गर्छ तर चुनावको मुखमा प्रचण्ड र नेपालबीच खटपट सुरु भएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रचण्ड र नेपालबीच चर्काचर्की भएको स्रोतले जनाएको छ । बैठकमा माधव नेपालले आफ्नो पार्टी जोगाइदिन केही महत्त्वपूर्ण सिट मागेका तर प्रचण्डले ती सिट दिन नसकिने जवाफ दिएपछि चर्काचर्की भएको छ ।
बैठकमा प्रचण्डले सानो पार्टीको अध्यक्ष भन्दै माधव नेपाललाई हेपेपछि अध्यक्ष नेपालले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग हारगुहार गरेका छन् । देउवाले तत्कालै कुनै प्रतिक्रिया नजनाएपछि आफूले एमाले पार्टी नै फुटाएर प्रधानमन्त्री बनाएको र ठूलो राजनीतिक जोखिम मोलेको देउवालाई स्मरण गराएका छन् । माधव नेपालले मुख्यगरी ६ सिटमा दह्रो दाबी गरिरहेका छन् ।
अध्यक्ष नेपालले एसका उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, उपमहासचिव प्रकाश ज्वाला, श्रम मन्त्री शेरबहादुर कुँवर, भानुभक्त जोशी र शिव भण्डारीका लागि प्रतिनिधिसभा सदस्यको सिट सुरक्षित गर्न खोजेका छन्, यी क्षेत्रमा माओवादीले दाबी गरेर अप्ठ्यारो गरिरहेको नेकपा एसका शीर्ष नेताहरूको बुझाइ छ । त्यसैले बिहीबारको बैठकमा अध्यक्ष नेपालले यी सिट आफूलाई दिन देउवासँग गुहार गरेका हुन् ।
एसका उपाध्यक्ष राजेन्द्र पाण्डे उम्मेदवार बन्ने धादिङको २ नम्बर क्षेत्रमा माओवादीका शालिकराम जमरकट्टेल आकांक्षी छन् । शालिकराम माओवादीभित्र प्रचण्डका विश्वासपात्र मानिन्छन् ।
एसका उपमहासचिव जगन्नाथ खतिवडाले मागेको क्षेत्रमा माओवादीका सुरेशकुमार राई अगाडि सरेका छन् । एसका उपमहासचिव प्रकाश ज्वालाले दाबी गरेको सल्यानलाई माओवादीले छाड्न मानेको छैन ।
एसका नेताहरू शेरबहादुर कुँवर अछाम र भानुभक्त जोशी बझाङबाट उम्मेदवार बन्न खोजेका छन् तर सबैतिर माओवादीले अप्ठ्यारो गरेको र सिट बाँडफाँटमै रोक्न खोजेको बताइन्छ ।
माओवादीले माधवकुमार नेपाल, झलनाथ खनाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, किसान श्रेष्ठ, प्रेमबहादुर आलेले दाबी गरेकाबाहेक क्षेत्रमा विवाद बढाउने र अप्ठ्यारो गर्ने काम गरिरहेको एस स्रोतले जनाएको छ ।












प्रतिक्रिया