
काठमाडौं, २१ असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न चुनावमा निर्वाचन नलड्ने घोषणा गरेपछि उनको प्रशंसा भएको थियो तर उनले छोरी मानुषी यमी भट्टराईलाई अगाडि सार्दा गठबन्धन नै भत्किएको खुलासा भएको छ ।
भट्टराईले समूहलाई नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनावमा लैजाने घोषणा गरिसकेका छन् । त्यसैले उनले सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा काठमाडौंको ७ नम्बर निर्वाचन क्षेत्रलाई माओवादीको कोटामा पारेर त्यहाँ छोरी मानुषीलाई चुनाव लडाउन खोजेका छन् ।
तर काठमाडौंको ७ नम्बर क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेता राजेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउनुपर्ने अडान राखे । गठबन्धनका नेताहरूले मानुषीलाई प्राथमिकतामा राखेको र कम सिट दिने देखिएपछि उपेन्द्र रिसाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् ।
एमालेसँगको छलफलमा एमाले र जसपाबीच गठबन्धन हुने लगभग पक्का भइसकेको स्रोतले जनाएको छ । एमालेले जसपालाई २२–२५ सिट दिने सहमति जनाएको छ ।












प्रतिक्रिया