१५ कार्तिक २०८३, आइतबार

केपी ओली भन्छन्-‘जनताको घर बनाइदिनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli Briefs Mediaकाठमाडौँ, २५ वैशाख । व्यवस्थापिका-संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रले भूकम्पपछिको विपत्तिमाथि अवश्य विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भूकम्पबाट प्रभावितलाई राज्यले सम्पूर्ण स्वदेशी तथा विदेशी स्रोतको परिचालन गरेर नागरिकलाई सुरक्षित आवासको प्रबन्ध गर्ने पनि बताउनुभयो ।

“नेपाल राष्ट्रले विगतमा पनि यस्ता सङ्कटको बहादुरीकासाथ सामना गर्दै आएको छ र आज पनि सामना गरेर यसमाथि विजय प्राप्त गर्न सक्नेछौँ भन्ने कुरामा म विश्वस्त छु”–उहाँले भन्नुभयो–“कहिल्यै घाम नअस्ताउने उपनिवेशवादको पनि बहादुरीका साथ प्रतिरोध गरेर राष्ट्रिय स्वाधीनता जोगाउन सक्षम राष्ट्रले यस विपत्तिमाथि अवश्य विजय प्राप्त गर्नेछ ।”

आफ्नो पार्टी उद्धार, राहत र पुनःस्थापनाका काममा जनताका साथ रहेको जनाउँदै आफ्ना घर/परिवारमा क्षति भए पनि सुरक्षाकर्मीले खटिएर गरेको कामकाप्रति आभार व्यक्त गर्दै उहाँले छिमेकीसहित विदेशी सहयोगीलाई पनि धन्यवाद दिनुभयो । उहाँले उद्धारसम्बन्धी काम सकिएपछि विदेशी उद्धारकर्तालाई बिदा दिनु राम्रो भएको जनाउँदै यस्तो सङ्कटको बेलामा राहत र सहयोगका नाममा महान समाजसेवी बन्न खोज्नेकाप्रति असन्तोष व्यक्त गर्दै एकीकृत राहतका लागि सरकार नै भरपर्दाे भएको पनि स्पष्ट गर्नुभयो ।

अध्यक्ष ओलीले नब्बे साल (विसं १९९०) को भूकम्पलाई पनि नेपालीले मिलेर सामना गरेको सन्दर्भ उल्लेख गर्दै मतभेद नराखी एकताबद्ध भई अघि बढ्न र संविधान निर्माणको कामलाई पनि एकैसाथ गति दिन आग्रह गर्नुभयो । “हामी असामान्य अवस्थामा छौँ । अब मन मिलाऊँ, यसका लागि के विधि अपनाउनुपर्छ, त्यो अपनाऊँ”–ओलीले भन्नुभयो ।

उहाँले हाल बेपत्ता रहेका नागरिकप्रति निश्चित समय राखी त्यसपछि मृत घोषणा गरी परिवारलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो । सबै एक भएर लाग्नुपर्छ भन्नेमा सहमति जनाउँदै उहाँले तर कसरी एकताबद्ध हुने, प्रतिपक्षले सत्तापक्ष नभनेर एकताबद्ध भएर जाने वा के के विन्दु हो त्यो पहिचान चाँडो गरी नवनिर्माणमा लाग्नुपर्छ भन्नुभयो ।

उहाँले क्षतिग्रस्त विद्यालयका विद्यार्थीलाई तत्काल पठाउने विभिन्न विकल्प दिन आग्रह गर्दै भूमिको उपयुक्त वर्गीकरण गरी कृषि र बस्तीका लागि नीति ल्याउन सुझाव दिनुभयो ।

नेता ओलीले मनसुन सुरु हुन अब धेरै समय बाँकी नरहेको र यसले बेघरबार नागरिकको जीवनलाई थप कष्टकर, दुरुह र जोखिमपूर्ण बनाउने भन्दै त्यसबाहेक, भूकम्पका कारण चिरिएको र छियाछिया परेको पहाडी भूभागमा बाढी पहिरोको ठूलो जोखिम निम्तिने खतरा पनि टड्कारो छ भन्नुभयो ।

ध्वस्त संरचनाहरूको पुनर्निर्माण अत्यन्त ठूलो चुनौती भएको र नागरिकका निजी आवास, विद्यालय, सरकारी कार्यालय एवम् हाम्रा ऐतिहासिक–सांस्कृतिक धरोहरको पुनर्निर्माणका लागि खर्बौैंको कोष आवश्यक पर्ने पनि उहाँले बताउनुभयो ।