
काठमाडौं, १८ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवनबाट आएका गठबन्धनका नेताहरूलाई निराश बनाएर फर्काएका छन् ।
प्रचण्डलाई भेट गर्न खुमलटार आइपुगेका चितवनका गठबन्धनका जिल्ला नेता तथा कार्यकर्ता प्रचण्डको जवाफले निराश बनेका हुन् ।
स्रोतका अनुसार प्रचण्डले आफूलाई गोरखाबाट चुनाव लड्न सुझाव आएको र सो विषयमा गम्भीर रहेको बताउँदै चुनाव लड्ने विषयमा कुनै पनि निर्णय जुनसुकै बेला लिन सक्ने जनाएका थिए ।
चितवनका नेता कार्यकर्ताले चितवन नछोड्न र आफूहरु सहयोग गर्न तयार रहेको बताउँदा प्रचण्डले प्रत्येक निर्वाचनमा फरक-फरक क्षेत्रबाट लड्ने गरेको बताउँदै यसपटक अन्त जान पनि सक्ने संकेत गरेका थिए ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका नजिकिदैँ गर्दा प्रचण्ड गृह क्षेत्र चितवन-३ छोडेर गोरखा बाट चुनाव लड्ने आन्तरिक तयारीमा जुटेका छन् ।
चितवनमा जित हाँसिल गर्न कठिनाइ हुने संकेत देखेपछि प्रचण्डले गोरखा-२ बाट चुनाव लड्ने तयारी सुरु गर्दा चितवनमा खैलाबैला मच्चिएको छ ।
यसअघि, आज गठबन्धनको चितवन जिल्लास्तरीय बैठकले प्रचण्डलाई चितवन-३ छोडेर क्षेत्र परिवर्तन नगर्न अपिलनै गरेको थियो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको क्षेत्र रहेको गोरखा-२ मा यसपटक बाबुरामले निर्वाचन नलड्ने घोषणा गरिसकेका छन् । बाबुरामले प्रचण्डकै लागि बाटो खुला गरेको स्रोतको दाबी छ ।
चितवन-३ मा जित हात पार्न प्रचण्डलाई कांग्रेसको भर पर्नु अवस्था रहेकोमा निर्वाचनमा कांग्रेसको असन्तुष्ट समूहले उम्मेद्वारी दिने तयारी गर्दा पराजित हुने डरले प्रचण्ड चितवन छाडेर गोरखा जान लागेको गठबन्धनको एक केन्द्रीय नेताको दाबी छ ।












प्रतिक्रिया