काठमाडौं, २३ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको चुनावी तालमेलका लागि सत्ता गठबन्धनले बनाएको कार्यदल बैठक यतिबेला जारी छ ।
कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो तीन बजेदेखि सुरु गर्ने तयारी थियो । तर, निर्धारित समय भन्दा केही समय ढिलाई गरेर बैठक सुरु भएको छ ।
साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिनेगरी गठबन्धनले कार्यदल बनाएको थियो । अहिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । काँग्रेसका केही नेताहरुले १०० सिट पाउनु पर्ने दाबी गरिरहेका छन् । यस्तै, अन्य दलहरुले भने ८० देखि ८५ सम्म सिट दाबी गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा पनि भागबण्डा नमिलेर धेरै ठाउँहरुमा सत्ता गठबन्धन फुटेको थियो । आगामी आम निर्वाचनमा पनि दलहरुको आ-आफ्नै अडान र दाबीका कारण गठबन्धन नफुट्ला भन्न सकिने स्थिती छैन् । यद्यपी, कार्यदलको बैठक आजदेखि मात्रै सुरु भएकाले अहिल्यै यसै भन्न सकिन्न ।
कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।












प्रतिक्रिया