काठमाडौं – प्रेम विवाह गरेको एक महिना नबित्दै कैलालीमा एक युवतीको मृत्यु भएको छ। दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीय विष्णु रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।
रावलले झुण्डिएर आत्महत्या प्रयास गरेको अवस्थामा श्रीमान्ले पासो काटेर अस्पतालमा पुर्याएको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो उपचारका लागि टीकापुर अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएकोमा शुक्रबार आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
‘अनुसन्धानका लागि मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएका थियौं। तर, प्रारम्भीक अनुसन्धानमा हत्या गरेको जस्तो नदेखिएकाले शुक्रबार आफन्तको जिम्मा लगाएका छौँ,’ डीएसपी शाहीले भने, ‘तर घटनाको अनुसन्धान भने जारी छ। हत्यालाई बल पुग्ने प्रमाण फेला परेमा जुनसुकै बेला पनि नियन्त्रणमा लिने छौं।’











प्रतिक्रिया