काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा) को पहिलो बैठक आज बस्दैछ। पार्टीका नेता विश्वदीप पाण्डेका अनुसार शनिबार काठमाडौंमा हुने बैठकमा विविध एजेण्डामाथि छलफल हुनेछ ।
निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी अद्यावधिक गरे पनि यो पार्टीले अध्यक्षलगायत केन्द्रीय समिति अद्यावधिक गराउन बाँकी नै छ। आजको बैठकले केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिएर नेता तथा कार्यकर्ताहरूको कार्यविभाजनको निर्णय गर्ने पार्टीले जनाएको छ ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचन बारे पसन बैठकमा छलफल हुने बताइएको छ। नेता पाण्डे भन्छन्, ‘पार्टीको आन्तरिक विषय र आगामी चुनावबारे रणनीतिबारे छलफल हुनेछ ।’
यसैबीच सत्ता गठबन्धनमा रहेका पाँच दलले शुक्रबार आगामी मंसिर ४ मा हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन्। तर, नेसपाले भने अहिलेसम्म चुनावमा कुन दलसँग गठबन्धन गरेर जाने ? भन्ने बिषयमा कुनै निर्णय लिएको छैन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पहिलो पटक विघटन गरेदेखि नै भट्टराई पाँच दलीय अहिलेको गठबन्धनसँग नजिक छन्।
भट्टराईनिकट नेता विश्वदीप पाण्डेका अनुसार बाबुराम सत्ता गठबन्धनमै छन्।
‘पार्टी गठन लगायतका आन्तरिक विषयमा व्यस्त हुँदा उहाँ सत्ता गठबन्धनका बैठकहरूमा सहभागी हुन पाउनुभएको छैन,’ उनले भने, ‘हामी सत्ता गठबन्धनमै छौं, इतरतिर होइन।’
भट्टराई २०७४ मा पनि गोरखा २ मै चुनाव लडेर तत्कालीन वामगठबन्धनका उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई हराएका थिए।











प्रतिक्रिया