मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

एमाले मूल ढोकाबाट जनताको आशीर्वाद लिएर सिंहदरबार पस्छ- उपाध्यक्ष नेम्वाङ

दैनिक नेपाल २०७९ साउन २० गते १९:५७


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमालेले आगामी संघ र प्रदेशको निर्वाचनबाट जनताको अत्याधिक मत पाउने बताएका छन् ।

शुुक्रबार नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘हामी चोर बाटोबाट घरको छाना फोडेर सिंहदरबार पस्दैनौं,‘ उनले भने, ‘सिंहदरबारको मूल ढोकाबाट जनताको आशीर्वाद लिएरै जान्छौँ। विश्वास छ जनताको आशीर्वाद हामीलाई प्राप्त हुनेछ।’

उपाध्यक्ष नेम्वाङले सर्वोच्च अदालतको आदेशबाट अहिले प्रतिपक्षमा पुगेको भए पनि एमाले यो देशको पहिलो पार्टी भएको दाबी गरे।

उनले भने, ‘प्रतिनिधिसभामा पहिले पनि र अहिले पनि एमाले पहिलो पार्टी नै हो। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतका कारण हामी पहिलो पार्टी नै बनेका छौँ।’

उनले एमाले प्रमुख प्रतिपक्षमा बसे पनि संवैधानिक हिसाबले कुनै पनि समयमा सरकारमा जाने सक्ने पार्टी भएको तर एमालेलाई सरकारमा जान हतार नभएको उल्लेख गरे।

उनले भने, ‘हामी हतार गरेर, विभिन्न षड्यन्त्र गरेर सरकारमा जान चाहेका छैनौँ। हामी निर्वाचनबाट जनताको आशीर्वाद लिएर जान चाहन्छौँ। तर सरकारमा भएका दलहरू हामीसँग ५ दलको गठबन्धन गरेर निर्वाचनमा जान तयार हुनु भएको छ।’

उनले मंसिर ४ गतेको निर्वाचनमा जनताले दूधको दूध र पानीको पानी छुट्ट्याउने दाबी गरे। उनले अहिलेको गठबन्धन संविधान, कानुन र संसदीय मूल्य मान्यताविपरीत भएको भन्दै तत्कालीन एमालेका क्रियाशील साथीहरू आफ्नै पार्टीको सरकारको विरोधमा लागेको आरोप पनि लगाए।

उनले भने, ‘राष्ट्रपति कहाँ निवेदन दिन उहाँहरू नै जानु भयो। सर्वोच्च अदालतमा जाँदा पनि उहाँहरू नै जानु भयो। आफ्नो पार्टीको सरकारविरुद्ध सडकमा समेत उत्रिनु भयो।’

प्रतिक्रिया
सम्बन्धित