
काठमाडौं, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघको संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनीय भएको बताएकी छन् ।
आज जुलाई २९ विश्व बाघ संरक्षण दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले संसारभर सकारात्मक पहिचान बनाउन सफल हुनु प्रसन्नताको विषय भएको बताइन् ।
राष्ट्रपति कार्यालयबाट जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालले करिब एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा यसै वर्ष (सन् २०२२) भित्र नेपालमा रहेका बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएको थियो । जसअनुसार सन् २०१८ मा नेपालमा बाघको सङ्ख्या २३५ पुगेको र हाल आफ्नो लक्ष्य हासिल गर्नेतर्फ उन्मुख रहेकाले बाघ संरक्षणमा मुलुकले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भैरहेको छ । बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले संसारभर सकारात्मक पहिचान बनाउन सफल हुनु प्रसन्नताको विषय हो ।’
‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने सङ्कल्पका साथ विश्व बाघ दिवस मनाइँदै छ । राष्ट्रपति भण्डारीले प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिलोस् भन्दै शुभकामना दिएकी छन् ।
‘हाम्रो देशका विभिन्न भागमा स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ । बाघको चोरी शिकारी तथा बाघका अङ्गहरूको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणको लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाबाट विश्वव्यापी बाघ संरक्षणको पहलकदमीलाई सार्थक बनाउन थप मद्दत मिलेको छ । वन्यजन्तु संरक्षणका क्षेत्रमा विद्यमान नीति र कानुनी व्यवस्थालाई प्रकृति संरक्षणको अभिन्न अङ्गका रूपमा कार्यान्वयन गर्न सबैको दिगो सक्रियता आवश्यक पर्दछ । बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार‚ बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायहरूको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्याउनु पर्दछ । बाघको संरक्षण र संख्या वृद्धि नेपालको पर्यटन प्रवर्द्धन एवम् आर्थिक विकासका लागि समेत महत्त्वपूर्ण हुने भएकाले संरक्षणका नवीनतम उपायहरू अवलम्बन गर्दै यसलाई निरन्तरता दिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीहरूलाई आव्हान गर्दछु’, राष्ट्रपति भण्डारीले भनेकी छन् ।












प्रतिक्रिया