३ मंसिर २०८३, बिहिबार

चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, १० साउन । चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ ।

जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

माइती नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका लागि सरोकारवालासँगको अन्तरक्रियामा प्रहरी उपरीक्षक अधिकारीले पछिल्ला वर्षहरूमा यौनजन्य घटनामा वृद्धि हुँदै गएको जानकारी दिए ।

उनले जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा जबर्जस्ती करणीका ५१ घटना दर्ता भएकामा आव २०७७/७८ मा ६० तथा आव २०७८/७९ मा ६३ पुगेका जानकारी दिए । त्यस्तै बाल यौन दुरुपयोगका घटनामासमेत उल्लेख्य वृद्धि भएको उनको भनाइ छ ।

प्रहरी उपरीक्षक अधिकारीले आव २०७६/७७ मा पाँच बाल यौन दुरुपयोगको घटना भएको जनाउँदै आव २०७७/७८ मा १० तथा आव २०७८/७९ मा १७ घटना दर्ता भएका जानकारी दिए ।

बाल यौन दुरुपयोगका घटनामा विद्यालयका शिक्षकसमेत पीडक हुने गरी उजुरी आउन थालेका प्रहरीको भनाइ छ । त्यस्तै जिल्लामा मानव बेचबिखनका घटनामा भने कमी आएको कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रहरीका जिल्लामा आव २०७६/७७ मा छवटा मानव बेचबिखनका घटना दर्ता भएको थियो । त्यस्तै आव २०७७/७८ मा चार तथा आव २०७८/७९ मा तीनवटा घटना मानव बेचबिखनसम्बन्धी दर्ता भएका थिए ।

जिल्लामा बालाअवस्थामै लागुऔषध सेवनकर्ताको सङ्ख्या बढेको भन्दै प्रहरी उपरीक्षक अधिकारीले बालश्रम शोषणका विभिन्न घटनासमेत हुने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालयले बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा, दुर्व्यसनी घटनाउने उद्देश्यले जनचेतनामूलक पाठ्यसामग्री तयार पारेको छ । ती पाठयक्रमलाई विद्यालयमा पढाउने गरी तयारी भइरहेको उल्लेख गर्दै उनले स्थानीय तहहरूसँग सहकार्य भइरहेको जानकारी दिए ।

कार्यक्रममा माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले जिल्लामा बाल यौन शोषण र महिला बालबालिको बेचबिखनको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।

संस्थाले महिला तथा बालबालिका, यौन हिंसा न्यूनीकरणका लागि काम गर्दै आएको उनले बताए । अप्ठ्यारोमा परेका बालबालिकाको उद्धार र शिक्षादीक्षा प्रदान गरी अभिभावकत्व ग्रहण गर्दै संरक्षण गृहमा राख्ने गरिएको सस्थाले जनाएको छ ।

संस्थाले सात वर्षको बालिकालाई भरतपुरकै एसओएस विद्यालय, एक बालकलाई हेटौँडाको मामाघर तथा तीन बालिकालाई टेरेसा एकेडेमी काठमाडौँमा भर्ना गराएको कार्यक्रममा जानकारी दिइएको थियो ।

हिंसापीडित छ महिलालाई ब्यूटीसियन तालिममा सहभागी गराएको बालविवाह न्यूनीकरण तथा बालिबालिकामाथि हुने हिंसा रोकथाममा पनि सस्था सक्रिय रहेको छ ।

सस्थाले बालिकाको संरक्षण तथा उनीहरूमाथि हुने हिंसाको सामना गर्दै न्याय दिलाउन नेदरल्याण्ड सरकारको सहयोगमा ‘फ्रि अ गर्ल’ परियोजना सञ्चालन गरेको छ ।

सन् २०२१ को अप्रिलबाट सुरु भएको परियोजना २०२२ को डिसेम्बरमा सकिने उनले जानकारी दिए । कार्यक्रममा कानुनी सहायता परियोजनाका गोमा न्यौपाने, देवघाटको रामजानकी आश्रमका अध्यक्ष सावित्री टण्डन, ट्रान्सपरेन्सी इन्टरनेशन चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । –रासस