काठमाडौं, १७ जेठ । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवम गृहमन्त्री बामदेव गौतमले एमालेमा नयाँपन ल्याउनका लागि बरिष्ठ नेता केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनै पर्ने बताउनुभएको छ ।
पार्टी भित्र नेतृत्वको हस्तान्तरण गरेर नेताहरुको योग्यता, खुबी र सिर्जनाको प्रयोग तथा परिक्षणका निम्ति पनि ओलीलाई अध्यक्ष बनाएरै छाडिने उद्घोष गर्नुभयो ।
धौलागिरी अञ्चल स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गौतमले विचार, संगठन र आन्दोलनमा शिर्ष तहका सवै नेताहरूको योगदान समान रहेको भन्दै ओलीलाई अध्यक्ष बन्न नदिने कुरा अन्यायपूर्ण हुने बताउनुभयो । ‘सबैको योगदान उस्तै हो, तर फरक यति मात्रै हो कि माधव कमरेडले १५ बर्ष नेतृत्वमा रहेर पार्टी चलाउनुभयो, केपी कमरेडले त्यो अवसर पाउनुभएको छैन्’, गौतमले भन्नुभयो–‘केपी ओलीलाई अध्यक्ष बन्न दिन्नौं भन्ने कुरा अन्यायी र पूर्वाग्रहपूर्ण कुरा हो कि उहाँ भन्दा माधव कमरेड अब्बल खुबी भएको भनेर प्रमाणित गर्नुपर्यो ।’
ओलीलाई अध्यक्ष हुनबाट रोक्नलाई केहीले ‘रोगी र विरामी छ’ भन्ने गरेको टिप्पणीप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो । बिरामी मात्रै भएको भनेर नेतृत्वमा आउन नदिने कुरा गर्नु अमानवीय भएको उहाँको टिप्पणी थियो । ‘उसो त माधव नेपाल पनि १२ दिन जत्ति विरामी भएर हस्पिटलमा सुत्नुभएको थियो, को होला यो संसारमा विरामी नहुने मान्छे ?’ उहाँले भन्नुभयो–‘यदि गल्ती र कमजोरीका कुरा नै गर्ने हो भने आमनेसामने भएर कुरा गर्नुपर्यो ।’
केही समय अगाडि नेपाल विरामी हुँदा अस्पतालमा पुगेर आफुले तपाई कस्तो विरामी हो ? भनेर सोधखोज गर्दा ‘म ओली जस्तो विरामी होइन’ भन्ने जवाफ नेपालले दिएको पनि उहाँले खुलाउनुभयो । उहाँले पार्टीको नेतृत्व शरीरले भन्दा पनि विचारले गर्ने बताउनुभयो । ओली अहिले पूर्ण रुपमा स्वस्थ भैसकेको बताउँदै गौतमले आगामी मंगलबार स्वदेश फर्किने तयारी भएको बताउनुभयो ।
कसैप्रति आग्रहको दृष्टिबाट दृष्टिकोण निर्माण गर्न नहुने उहाँको भनाई थियो । उहाँले पार्टीको अध्यक्षमा ओली जित्ने निश्चत भएको दाबी गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष विद्यादेवी भण्डारीले एउटै व्यक्ति नेतृत्वमा रहँदा पार्टीमा गति नआएको भन्दै पार्टीको गतिशिलता र गुटबन्दी अन्त्यका लागि पनि नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताउनुभयो । विगतमा मदन भण्डारी फाउण्डेशन बनाउँदा विरोध गर्नेहरुले मदन भण्डारी अध्ययन केन्द्र बनाएर गतिविधि गरीरहेको सुन्दा रमाइलो लागेको बताउनुभयो । ‘बजारमा आफ्नो भाउ बिक्री नभएपछि मदनको नाममा अध्ययन केन्द्र बनाइएको होला’ भण्डारीले व्यङग्य गर्दै भन्नुभयो ।
सचिव शंकर पोखरेलले पार्टी भित्र अनवरत रुपमा केपी शर्मा ओलीको नीतिको सदैव विजयी भइरहेको दावी गर्नुभयो । ‘अहिले केहीले जसको नीति उसको नेतृत्व भनेर प्रस्तुत गर्ने खोजिदैं छ,’ पोखरेलले भन्नुभयो–‘यदि त्यसो हो भने एमालेको सिद्धान्तको निर्माणमा होस वा कार्यनीतिको सवालमा केपी ओलीको प्रस्तावले सधैंव विजय हाँसिल गरेको छ, उहाँलाई नै सर्वसम्मत गरौं नत ।’
जनताको बहुदलिय जनवादको पक्षमा लगातार पक्षपोषण गर्ने नेताहरुमा केपी र वामदेव गौतम नै रहेको बताउनुभयो । ‘एमालेले हालसम्म दुईपटक मात्रै कार्यनीति बनाएको छ र ती दुवै कार्यनीति प्रस्तुत गर्ने केपी कमरेड हो र पछिल्लो परिवर्तित सांगठनिक संरचनाको प्रस्तावको प्रस्तोता पनि केपी कमरेड हो’ पोखरेलले भन्नुभयो–‘नीति निर्माणको प्रस्ताव गर्ने चाँहि नेता नहुने तर उहाँको समर्थक चाँहि नेता हुने पनि हुन्छ र ?’
कार्यक्रमलाई केन्द्रीय सदस्यहरु थममाया थापा, किरण गुरूङ र गणेश तिमिल्सीना तथा पर्वतका सभासद एवं जिल्ला अध्यक्ष विकास लम्साल, म्यादीका सभासद नवराज शर्मा र नरदेवी पुन, वाग्लुङका पार्टी सचिव गोविन्द नेपाली र सभासद नरवहादुर थापा, मुस्ताङका कृष्ण गौचन, बुद्धिजीवीहरु प्राडा हुमबहादुर बरुवाल, प्राडा चन्द्रवहादुर श्रेष्ठलगायतले बोल्नुभएको थियो ।













प्रतिक्रिया