
काठमाडौँ, ३२ असार । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी शक्तिका कारण तत्काली केपी ओली नेतृत्वको सरकार ढलेको बताएका छन् ।
पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको यादवको दावी छ ।
शनिबार नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपाली राजनीतिमा कतै न कतै भूराजनीतिक प्रभाव पर्ने बताए ।
यादवले भने, ‘कुनै पनि मुलुकले आफ्नो विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धलाई तय गर्दा भूराजनीति, आफ्नो छरछिमेकप्रति पर्ने असरलाई ध्यान दिएरै गर्नुपर्छ । नेपालले असंलग्न परराष्ट्र नीति, पञ्चशीलका सिद्धान्त र कसैको विरुद्ध आफ्नो भूमिलाई प्रयोग हुन नदिने कार्यलाई निकै अप्ठ्यारो अवस्थामा पनि निरन्तरता दिँदै आएको छ । भूराजनीति असन्तुलन भएकै कारण दुनियाँमा धेरै ठूल्ठूला दूर्घटनाहरु भएका छन् र यो भूराजनीतिको प्रभावबाट आफ्नो मुलुकको इन्ट्रेष्ट, आफ्नो मुलुकको सार्वभौमसत्ता, आफ्नो मुलुकको आर्थिक उन्नति, आफ्नो मुलुकको सुरक्षा र आफ्नो मुलुकको संस्कृति र सम्पन्नतालाई कसरी बढाउने, कसरी संरक्षण गर्ने यी महत्वपूर्ण विषय निश्चित रुपमा भूराजनीतिसँग जोडिएका विषयहरु हुन् ।’
‘भूराजनीतिमा नेपालको पोजिसन हेर्दाखेरि बडो संवेदनशील छ । हाम्रो मुलुक ल्याण्डलक छ र अल्पविकसित छ । राजनीतिक रुपमा अहिले पनि अस्थिर नै छ ।’ अध्यक्ष यादवले भने, ’यति अस्थिर छ, हाम्रो पूर्व प्रधानमन्त्रीजी हुनुहुन्छ । उहाँ सँगसँगै म उहाँकै क्याबिनेटको उपप्रधानमन्त्री थिए । म पूर्व भए । केही दिनपछि उहाँ पनि पूर्व हुनुभएछ । यो पनि भूराजनीतिकै प्रभाव हो । कतै न कतै नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरु देखिनै प्रभावित भएर आएको छ । नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारणहरु धेरै छन । तर, बाह्य कारणहरु पनि जोडिएका छन् ।’
त्यस्तै, उनले सरकारले रुस युक्रेन युद्धमा युक्रेनलाई साथ दिएर गल्ती गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
तटस्थाको नीति लिएको नेपालले पक्षधरता देखाउनु गलत भएको यादवको ठम्याइ छ ।












प्रतिक्रिया