३ मंसिर २०८३, बिहिबार

राजनीति र साहित्यबीच घनिष्ठ अन्तरसम्बन्ध छः योगेश भट्टराई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, ३२ असार । नेकपा (एमाले)का सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रमुख योगेश भट्टराईले राजनीति र साहित्यबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् ।

उनले राजनीति र साहित्यले एक अर्कालाई खबरदारी गर्ने बताए ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा नितु पोखरेलद्वारा रचित कविता संग्रह प्रयासको लोकार्पणपछि मन्तव्य राख्दै भट्टराईले साहित्यले समाजको राजनीतिलाई दिशा दिने बताए ।

राजनीति मुहान भएको उल्लेख गर्दै पूर्वसंस्कृति एवम् पर्यटनमन्त्री समेत रहेको भट्टराईले राजनीति बिग्रिए साहित्यले घच्घच्याउने र साहित्यमा गडबडी भए राजनीतिले सच्याउन कोसिस गर्ने बताए ।

राजनीतिले सिधा देख्ने, दायाँबायाँ नदेख्ने कारणले समाजका साहित्यलगायत अन्य आयामले यसलाई सुधार्न भूमिका खेल्ने भट्टराईको भनाइ थियो ।

त्यस्तै, उनले आफू साहित्यिक मान्छे नभए पनि आफ्ना भाषणहरु पनि एक किसिमका कविता भएको उल्लेख गरे । भट्टराईले आफू कला तथा साहित्यसँग सम्बन्धित मान्छे नभएपछि आफूलाई संस्कृतिमन्त्री बन्नुपर्दा निकै सकस परेको अनुभव सुनाए ।

त्यस्तै, विभिन्न सांस्कृतिक कार्यक्रममा अग्रजहरुका अगाडि प्रमुख अतिथि भएर बस्नुपर्दा फसाद परेको स्मरण गर्दै भट्टराईले त्यसपछि आफ्नो साहित्यिक जानकारी पनि बढेको बताए ।

आफू पर्यटन मन पराउने र प्राकृतिक स्थानहरुमा घुम्न जाँदा सुनिने चराचुरुंगीका आवाजहरु पनि कविता नै भएको उनको बुझाइ छ ।

उनले लेखकलाई पहिलो प्रयास नै सह्रानिय रहेको भन्दै बधाई दिएका थिए ।