३ मंसिर २०८३, बिहिबार

प्रहरी अधिकारी बढुवामा समता र समावेशीताको नयाँ लय स्थापित गर्दै आईजी सिंह

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ असार। नेपाल प्रहरीका महानिरिक्षक (आईजी) धीरजप्रताप सिंहले संगठन सुधारमा योग्य अधिकारीको बढुवा मात्र होइन, समता र समावेशीताको लय पनि स्थापित गराउने अभ्यास थालेका छन्।

संगठन प्रमुखको जिम्मेवारी पाउनासाथ स्थानीय चुनावलाई शान्तिपूर्ण सम्पन्न गराउने सक्षमता राखेका उनले संगठनभित्र रोकिएको बढुवालाई गति दिए। जसमा योग्य उच्च अधिकारीले जिम्मेवारी पाउने मात्र होइन, समता र समावेशीतालाई पनि संगठनको इतिहासमा नै पहिलो पटक प्रयोग गरेका छन्।

‘नेपाल प्रहरीको इतिहासमा नै प्रहरी नायव महानिरिक्षक (डीआईजी) बढुवामा चार जना महिला अधिकारीले स्थान पाएको यो पहिलो पटक हो। कतिपय त आईजी बन्न सक्ने लाइनमा लागिसकेका छन्’, एक जना पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) भन्छन्,‘आईजी सिंहले गरेको यो काम संगठनका लागि मात्र होइन, समग्र महिलालाई प्रहरीमा आकर्षित गर्ने उदाहरण पनि हो।’

४ जना महिला प्रहरी अधिकृत एकैसाथ माथिल्लो (डिआईजी) पदमा बढुवा भएको पहिलोपटक हो। किरण बज्रचार्य, मिरा चौधरी, दुर्गा सिंह र किरण राणा महिला डिआईजी हुन्। जसलाई बलियो जिम्मेवारी समेत प्रदान गरिएको छ।

नेपाल प्रहरीका लागि मात्र नभएर मुलुकमा रहेका, पछाडि पारिएका महिलाका लागि यो उत्प्रेरणा रहेको भावमा अधिकारकर्मी तथा पत्रकार बबिता बस्नेत लेख्छिन्,‘नेपाल प्रहरीको ७० वर्षको इतिहासमा प्रशासन तर्फ एआईजी पुजा सिंह र एकैपटक चार जना महिला प्रहरी अधिकारीहरू किरण बज्राचार्य, मिरा चौधरी, दुर्गा सिंह चन्द र किरण राणा डीआईजी हुनु हामी सबैका लागि गर्वको विषय हो।’

यो खुसीयालीमा माइती नेपालकी अध्यक्ष तथा सीएनएन हिरो अनुराधा कोइरालाले पाँचै जनासहितलाई सम्मान गरेकी थिइन्। ‘हामीले खुसी साट्यौं, बधाई हामीलाई’, बस्नेतले लेखेकी छन्।

यति मात्र होइन अघि बढ्न नसकेको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बढुवा, प्रहरी उपरिक्षक (एसपी) बढुवा सिफारिसमा पनि आईजी सिंहको नेतृत्वको संगठनमा समताको विषयलाई उच्च प्राथमिकता दिइएको छ।

एसपीबाट ३२ एसएसपी बढुवा र हाल डीएसपीबाट ३६ एसपी बढुवाको सिफारिसमा पनि यहि लयलाई स्थापित गरिएको छ। ‘बढुवाको रहर र आकांक्षा धेरैको हुन्छ। तर संगठनको आन्तरिक मुल्यांकन मात्र होइन, समता र समावेशीकरणको विषयलाई पनि नजरअन्दाज गर्न मिल्दैन’, एक अधिकारी भन्छन्,‘हामीलाई स्पष्ट निर्देश भएको छ।’

संगठनभित्रको सुधारको लयलाई एकातिर स्थापित गरिरहेका आईजी सिंहले अपराध र त्यस कर्ममा जोडिएकाविरुद्धको कारबाहीलाई पनि तिव्रताका साथ प्रभावकारी बनाउन निर्देशन दिइरहेका छन्। आफैं पनि अपराध अनुसन्धानमा अब्बल हुँदै उच्च ओहदामा पुगेका उनले गुन्डागर्दी नियन्त्रणमा लिन कुनै पनि सम्झौता नगर्नका लागि निर्देशन दिइसकेका छन्।