३१ आश्विन २०८३, शनिबार

ओली र चिनियाँ नेता लिउबीच लन्चसहितको साढे चार घण्टामा के भयो छलफल ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागका प्रमुख लिउ चियानछाओले भेटवार्ता गरेका छन् ।

मंगलबार विहान १० बजे लिउको टोली ओलीको निवास बालकोट पुगेर भेटवार्ता गरेको हो ।

ओली निवासमा लिउले साढे ४ घण्टा बिताएका थिए ।

उनीहरुबीच हार्दिकतापूर्ण छलफल भएको बताइएको छ ।

भेटवार्तामा ओली नेतृत्वको एमालेको टोली र लिउ नेतृत्वका सीसीपीको टोली बीचमा लामो छलफल भएको हो ।

भेटवार्तामा सहभागी स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला बिभाग प्रमुख डा. राजन भट्टराईका अनुसार दुई पार्टीबीच द्विपक्षीय कुराकानी भएको छ । उनका अनुसार लिउलाई झन्डै साढे एक घन्टा लन्च खान समय लागेको थियो ।

छलफलमा अध्यक्ष ओलीले नेपाल र चीनबीच केही पनि समस्या नरहेको बताएका थिए । ‘नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित छ । विगतदेखि नै हामी एक चीन नीतिमा अडिग छौं र विगतमा जस्तै नेपाली भूमिमा चीनसहित हाम्रो कुनै पनि मित्रराष्ट्रहरुविरुद्ध गतिविधि हुन दिदैनौं,’ ओलीको भनाइलाई उद्धृत गर्दै भट्टराईले जनाए ।

अध्यक्ष ओलीले जस्तो सुकै अवस्थामा पनि एमालेको चीन नीति उही रहेने स्पष्ट पारेका थिए । ‘हामी पारस्परिक समानता र लाभको आधारमा सम्बन्ध राख्छौं,’ ओलीको भनाई थियो ।

ओलीले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई इंगित गर्दै नेपाल र चीनबीच भएको सहमतिहरुलाई अघि बढाउन पर्नेमा जोड दिए । ‘हिजो दुवै मुलुकको हितको लागि हामीले जे–जे सहमति गरेका थियौं, त्यसलाई अघि बढाउन जरुरी छ,’ ओलीको भनाइ थियो ।

चिनियाँ नेता लिउले नेपाल, नेपाली जनता र एमालेले एक चीन नीतिप्रति खेलेको भूमिकालाई लिएर प्रशंसा गरेका थिए । आफ्नो धारणा राख्नेक्रममा लिउले चीनले कुनै पनि देशमा हस्तक्षेप नगर्ने र नेपालमा पनि त्यो नहुने प्रस्ट पारेको भट्टराईले जानकारी दिए ।

‘चीनले नेपाललाई विकास साझेदार रूपमा बढाउँदै आएको छौं र अरु थप अघि बढाउन चाहन्छ,’ लिउले भने, ‘चीनले आफै हिसाबले मार्क्सवादलाई व्याख्या गरेको र नेपालमा तपाईंहरुले आफ्नै हिसाबले व्याख्या गर्नु भएको छ । हामी आ–आफ्नो हिसाबमा अघि बढेका छौं ।’ लिउले एमालेले चीनमाथि लिएको नीतिलाई लिएर उच्च प्रशंसा समेत गरेका थिए ।

भेटवार्तामा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित उपमहासचिवद्वय प्रदीप ज्ञवाली र बिष्णु रिमाल, परराष्ट्र मामिला विभाग प्रमुख भट्टराई, सचिव डा. अञ्जान शाक्यलगायतका नेताहरु सहभागी थिए ।