
काठमाडौं, २५ जेठ । देव नागरिक लिपिरहितका इम्बोस्ड नम्बर प्लेट तत्काल खारेज गर्न माग गरिएको छ ।
सवारी साधनमा प्रयोग भइरहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गरी इम्बोस्ड नम्बर प्लेटको जडान गर्नु असंवैधानिक र अव्यावहारिक भएको भन्दै विश्व हिन्दू परिषद् नेपालले खारेज गर्न माग गरेको हो ।
नेपालको संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ । विगत केही वर्षअगाडि पनि तत्कालीन सरकारले इम्बोस्ड नम्बर प्लेटको प्रयोग गर्न खोज्दा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् इम्वोस्ड नम्बर प्लेटको कार्यान्वयनमा रोक समेत लगाएको थियो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले १० फागुन २०७४ मा इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको थियो ।
तर फेरि अदालतले २०७६ मंसिर २७ गते भाषाबारे परेका रिट खारेज गरिदियो । २०७७ असारमा फैसलाको पूर्णपाठ प्राप्त भएसँगै अंग्रेजीमै नम्बर प्लेट जडान गर्ने बाटो खु लेको थियो ।
‘नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धरासायी बनाउने उद्देश्यसहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गरिनु नेपाली भाषामाथिको ठाडो प्रहार हो । देवनागरीमा लेखिएको नम्बर प्लेटलाई हटाएर अनिवार्य रूपमा अङ्ग्रेजी इम्बोस्ड नम्बर प्लेट लाद्न खोजिनु भनेको नेपाल र नेपालीका लागि अत्यन्तै दुर्भाग्यपूर्ण हो,’ परिषद्ले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल सरकार यातायात विभागको निर्देशनले भने जसरी भए पनि नेपाली भाषालाई विस्तारै विस्थापित गर्ने बाह्य षड्यन्त्रलाई नेपालका वर्तमान सरकारका नेतृत्व गरिरहेका राजनीति नेतृत्वहरूले पूर्ण रूपमा साथ दिनु अत्यन्तै चिन्ताजनक एवं गम्भीर विषय हो ।’
निजी स्वार्थसिद्धिका लागि राष्ट्रविरोधी तत्वको प्रभावमा परी देशको भाषा र संविधानको मर्म माथि नै कुठाराघात गरिरहेको तथ्य नेपाली जनतालाई कदापि सह्य नहुने परिषद्को भनाइ छ । ‘जनभावनाको कदर गर्दै यस्तो राष्ट्रहित विपरीतको निर्णय तुरुन्त रद्द गरी नेपाली भाषा–देवनागरी लिपिमा नम्बर प्लेट छाप्ने व्यवस्थालाई यथावत् राख्नका लागि विश्व हिन्दू परिषद् नेपाल सरकार तथा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’















प्रतिक्रिया