
काठमाडौं, २२ जेठ । देशको समग्र विकास तथा निजी क्षेत्रको सशक्तिकरणका लागि नेपाल चेम्बर अफ कमर्शले आगामी असार २ गतेदेखि पाँचौं संस्करणको ‘नेपाल चेम्बर एक्स्पो, २०२२’ आयोजना गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा मेला आयोजना गर्न लागिएको हो । असार ६ गतेसम्म सञ्चालन हुने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिता रहने बताइएको छ ।
मेलाबाट अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवम् व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।
साथै गुणस्तरीय सामान प्रयोग गर्न र उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने बताइएको छ । निकासी अभिवृद्धि गर्ने उद्देश्य राखेर चेम्बरले आयोजना गर्ने उक्त प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवर्द्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उद्देश्य मेलाले राखेको छ ।
मेलामा १५० वटा स्टलहरू रहने छन् भने त्यसमध्ये १०० वटा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् ।
एक्स्पोमा अटोमोवाइल्स, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेस, फेसन वेयर तथा एसोसेरिज, गार्मेन्ट तथा टेक्स्टटायल, मोबाइल तथा ग्याजेट्स, एफएमसीजी, हाइड्रो, लजिस्टिक, ह्याण्डिक्राफ्ट तथा ह्यान्डोलोम्स, सुज एण्ड लेदर आइटम्स, कस्मेटिक, फुड एण्ड डेरी प्रोडक्टसलगायत सामग्रीहरूको प्रदर्शन गरिने भएको छ ।
एक्स्पोको गोल्ड स्पोन्सर हुलास एचआईपीसीओ सुपरविल्ड, अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स, र लर्निङ पार्टनरमा ब्रोड–वे इन्फोसिस रहेका छन् । त्यस्तै यो एक्पोको सम्पूर्ण व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले लिएको आयोजकले जानकारी दिएको छ ।















प्रतिक्रिया