
काठमाडौं, २० जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन् ।
सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै मन्त्री श्रेष्ठले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने बताएका छन् ।
ठगीमा परी उजुरी दिएका युवालाई छिटोछरितो सेवा दिन निर्देशन दिँदै मन्त्री श्रेष्ठले समयमै न्याय दिन कानुनी समस्या भए पनि समाधान गरिने बताएका छन् । वैदेशिक रोजगारीमा गएर वास्तवमै अलपत्र परेको भए तत्काल उद्धार गरिने तर विभिन्न वहानामा काम नगर्ने र उद्धारको लागि सरकारसँग हारगुहार गर्ने प्रवृति पनि देखिएको उनले बताए ।
मन्त्री श्रेष्ठले विभागका कर्मचारीहरुलाई श्रमिकको पक्षमा काम गर्दा समस्या भए मन्त्रालयमा तत्काल जानकारी गराउन निर्देशा दिए । सचिब अर्यालले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन अनलाइन प्रणालीमा लैजान बाँकी रहेका सेवालाई समेत प्रविधिमैत्री बनाउन निर्देशन दिए ।
इजाजतवाला संस्था (मेनपावर कम्पनी) को दर्ता, नवीकरण, कामदार पठाउन पाउने सिमा, धरौटी रकम, बैक ग्यारेन्टी, कारवाई, फुकुवा तथा अन्य जानकारीलाई पूर्ण अनलाइन प्रणालीमा लैजाने मन्त्रालयको तयारी रहेको मन्त्री श्रेष्ठले बताए ।
मेनपावरले श्रमिक विदेश पठाउन सक्ने क्षमताका आधारमा धरौटी रकमलाई पुर्नमूल्यांकन गर्ने संयन्त्रलाई समेत सुधार गरिने उनको भनाइ छ । धरौटी रकमका आधारमा उजुरीकर्तालाई रकम फिर्ता गर्न नसक्ने अवस्था भए पनि मेनपावरले राखेको बैंक ग्यारेन्टीलाई द्रुत प्रयोग गरी श्रमिकलाई रकम फिर्ता दिन उनले विभागका कर्मचारीहरुलाई निर्देशन दिए ।
मन्त्री श्रेष्ठले पछिल्लो समय कन्सल्टेन्सीका नाममा ठगी बढेको बताउनुहुँदै यसको नियन्त्रणका लागि शिक्षा मन्त्रालय लगायत निकायसँग समन्वयन गरि शैक्षिक परामर्श संस्थाको नियमनमा कडाइ गरिने बताए ।
शैक्षिक परामर्श संस्था समेत वैदेशिक रोजगारी व्यवसायमा
पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृती लिएर खोलिएका संस्था नै वैदेशिक रोजगार व्यवसायमा जोडिएर करोडौं रकम असुल्ने गरेको पाइएपछि यसलाई रोक्न मन्त्री श्रेष्ठले दोषिलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् । कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैया अरुली गरी संचालक फरार हुने गरेको उजुरी विभागमा परेको छ ।
विभागले हालै इन्टरनेसनल एक्पो एन्ड ट्राभल सर्भिस प्राली र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालीले १४४ जनाबाट साढे ४ करोड उठाएपछि वैदेशिक रोजगार न्ययाधिकरणका मुद्दा दायर गरेको महानिर्देशक शेषनारायण पौडेलले बताए । पौडेलले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेकामध्ये हाल ३ वटाको मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा दायर गरिएको बताए ।
एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्याक्तिगत सहित पछिल्लो महिनामा मात्र ४ करोड ९३ लाखको दाबी र सोको हर्जनासहित ७ करोड रुपैयाँका बराबरको मुद्दा दायर गरिएको छ ।
मन्त्रीको निर्देशनपछि पीडितले पाइन् न्याय
अनुगमनका क्रममा मन्त्रीले श्रेष्ठले गोरखा जिल्ला स्वारा गाविस वाड नं. १ हाल परिवर्तित बारपाक सुलिकोट गाउँपालिका ३ बस्ने निशान बगालेले ठगीबिरुद्ध दिएको उजुरीबिरुद्ध तत्काल कारवाई प्रक्रिया अघि बढाउन निर्देशन दिए । पीडित बगालेलाई वैदेशिक रोजगारिका लागि मासिक १००० डलर तलब रकम हुने होटेलसम्बन्धीको काममा अष्ट्रेलिया देश पठाईदिने जनाउँदै काठमाडौं जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं ६ बस्ने हरिशरण खडकाले एकमुष्ट १० लाख लिएका थिए ।
पीडीत बगालेले दिएको उजुरी सम्बन्धमा विभागले आजै कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्री श्रेष्ठको निर्देशनसँगै कारवाही प्रकृया शुरू भएपछि पीडित श्रेष्ठले खुशी व्यक्त गरिन् ।















प्रतिक्रिया