
काठमाडौं, २० जेठ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउन असम्भव नरहेको बताएका छन् ।
स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले राम्ररी काम थाल्न नपाउँदै केन्द्रीय सरकार फेरबदल हुने हल्ला चलिरहेको बेला नेता रायमाझीले प्रचण्ड र माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन असम्भव नभएको बताएका हुन् ।
‘प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्रीको अफर कहाँबाट आइरहेको छ, मलाई थाहा छैन । उहाँहरुलाई प्रधानमन्त्री बनाउने पार्टीको पोलिसी पनि होइन,’ एक रेडियो अन्र्वार्तामा नेता रायमाझीले भने, ‘राजनीतिमा प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन असम्भव छैन तर तत्काल सम्भव होला जस्तो लाग्दैन ।’
उनले आगामी निर्वाचनमा नेकपा एमाले एक्लै जाने पनि स्पष्ट पारेका छन् । ‘गठबन्धन लोभीपापीको झुन्ड भएकाले जुनसुकै बेला भत्किन सक्छ । त्यो आफ्नो अस्तित्व रक्षाका लागि बनाइएको हो । गठबन्धन भत्केको खण्डमा अन्य पार्टीसँग सहकार्य हुन पनि सक्छ,’ नेता रायमाझीको भनाइ छ ।















प्रतिक्रिया