
काठमाडौं, १७ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को गत जेठ १४ र १५ गते छैठौं महाधिवेशन सम्पन्न भएको छ ।
महाधिवेशनले होमकुमार थापाको अध्यक्षतामा ४९ सदस्यीय कार्य समिति गठन गरेको छ । महाधिवेशनबाट सहअध्यक्षमा मोतीराम फुयाँल, वरिष्ठ उपाध्यक्षमा केशबकुमार पाठक र देवीदत्त पौडेल, उपाध्यक्षहरुमा नारायण पौडेल, अञ्जु गौतम, रोहिणी प्रसाद पराजुली, धर्मराज भट्ट, उमेश सापकोटा, सरिता निरौला, दीपक गौतम र सुधिर कु झा निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा भोलनाथ चालिसे , उपमहासचिवमा मनोज खनाल, अर्थ उपमहासचिवमा इन्दिरा धमला र सचिवमा राम थुलुङ, यादव अधिकारी र जनकराज घिमिरे निर्वाचित भएका छन् । र महिला सचिव भने मनोनित गर्न बाँकी छ ।
इस्टुले नेपाल सरकारले दिएको हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा अनिवार्य रुपमा मान्नु पर्ने निर्णय गरेको छ । त्यस्तै, सस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुलाई सरकारले तोकेको तलब, सबै खाले बिदा र सबै सुबिधा अनिवार्य प्रदान गर्न स्थानीय तहहरुलाई आग्रह गर्ने समेत जनाएको छ ।
कोभिड लकडाउनका कारणले रोकिएको शिक्षकहरुको पारिश्रमिक तुरुन्त प्रदान गर्न, शिक्षकहरुको वृत्ति विकासको लागि तालिमको ब्यवस्था गर्न, नेपाल शिक्षक महासंघले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग २०७७ फाल्गुन ९ गते गरेको सम्झौता अक्षरस पालना गर्न समेत माग गरेको इस्टुले जारी गरेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।















प्रतिक्रिया