३ मंसिर २०८३, बिहिबार

तारा एअर दुर्घटनाः सबै शव शिक्षण अस्पताल ल्याइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ। पोखराबाट जोमसोमका लागि आइतबार विहान उडेको दुर्घटनाग्रस्त तारा एअर सवार सबै यात्रुको शव काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइने भएको छ।

क्षतविक्षत अवस्थामा रहेका शवको डिएनए परिक्षण गरि सम्बन्धित परिवारलाई बुझाइने छ। सोमबार विहान दुर्घटना भएको विमान यार्सागुम्बा टिप्नेले पत्ता लगाएपछि सेनाको एउटा हेलिकोप्टर उक्त स्थानमा पुगेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोओर्डिनेशन सेन्टरका अनुसार सबै शव काठमाडौं ल्याउने तयारी भए पनि मौसम प्रतिकूलतका कारण कति समय लाग्ने भन्ने यकिन छैन। हालसम्म १४ शव फेला पारिएको र अन्य ८ को खोजी भइरहेको सेन्टरका प्रवक्ता देवचन्द्र कर्णले बताए।

‘मौसम अहिले पनि खराब रहेका कारण कतिबेलासम्म शव संकलन गर्न समय लाग्ने हो भन्ने टुंगो छैन’, कर्णले भने,‘अहिले उद्दारका लागि विभिन्न सुरक्षा निकायको टोलीसँगै अन्य पनि पैदल यात्रा गरी दुर्घटनास्थल पुग्ने क्रम जारी छ। अन्य शवको खोजी पनि भइरहेको छ।’

विहान सेनाको एउटा हेलिकोप्टरबाहेक अन्य जान सकेको छैनन्। मौसम खुल्नासाथ हेलिकोप्टर परिचालन हुने कर्णले जानकारी दिए।

उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, यति एअरलाइन्सलगायतको टोली खटिएको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

तारा एअरको उक्त विमान १४ हजार ५ सय फिट माथि मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटना भएको थियो।

६ विदेशी पर्यटक, १३ यात्रु र ३ चालक दलका सदस्य सबैको मृत्यु भएको बताइएको छ। जर्मनीका मिक ग्रयाट, युवी विल्नरसहित चार भारतीय नागरिक उक्त जहाजमा थिए।

अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋष्तिका त्रिपाठी र वैभवी बाण्डेकर नामका चार भारतीय नागरिक रहेका थिए।

बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ र तुलसादेवी तामाङ पनि विमान दुर्घटनामा परेका थिए। चालक दलमा प्रभाकरण घिमिरेसहित सहचालक उत्सव पोखरेल र विमान परिचारिका किस्मी थापा थिए।

–नेपाल न्युज बैंक