६ कार्तिक २०८३, शुक्रबार

नेपाली महिलाको अधिकार सुनिश्चित गर्ने आधार निर्माण भइसकेको छ : राष्ट्रपति भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाको अधिकार सुनिश्चित गर्ने आधार निर्माण भइसकेको बताएकी छिन् ।

२०६३ साल जेठ १६ गते प्रतिनिधिसभाद्वारा महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’सर्वसम्मतिले पारित गरी नेपाली महिलाको अधिकार सुनिश्चित गरेको राष्ट्रपति भण्डारीको भनाइ छ । उक्त विशेष प्रस्तावलाई तत्कालीन अन्तरिम संविधानले आफ्नो अङ्गको रूपमा ग्रहण गरेको तथा वर्तमान संविधानले त्यसलाई थप संस्थागत र सुदृढ गरेको स्मरण उनले गरेकी छिन् ।

चौथो राष्ट्रिय महिला अधिकार दिवस, २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले लैङ्गिक समानताका लागि भएका विभिन्न आन्दोलन‚ सामाजिक जागरण एवं सचेतना अभिवृद्धिको परिणामस्वरुप संवैधानिक, कानुनी र संरचनागत व्यवस्थाहरू गरिएपछि राज्यका निकाय तथा सार्वजनिक क्षेत्रमा महिला सहभागिता क्रमशः वृद्धि हुँदै गएको पनि बताएकी छिन् ।

यद्यपि एकतिहाई महिला सहभागिताको संवैधानिक प्रावधानलाई व्यवहारमा उतार्न राज्यका सबै अङ्गहरूका साथै राजनीतिक दलहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता उनले औंल्याएकी छिन् ।

‘महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई मुलुकको विकास प्रक्रियामा सदुपयोग गरीस्रोत, साधन र अवसरमा समान पहुँचको माध्यमबाट संविधानले परिलक्षित गरेको लैङ्गिक समानताको उद्देश्य हासिल गर्न सकिन्छ । राष्ट्रिय जीवनका सबै क्षेत्रमा महिलाको समान‚ अर्थपूर्ण र सम्मानजनक सहभागिता प्रत्याभूति गराउन पुरुष र महिला दुवैको सक्रिय भूमिका रहनु पर्दछ । नीति निर्माण एवं निर्णय प्रकियामा महिला सहभागिता अभिवृद्धि गर्दै आर्थिक सशक्तीकरणका माध्यमबाट सामाजिक न्यायसहितको राष्ट्रिय समृद्धि हासिल गर्नसबैको सामुहिक क्रियाशीलताका लागि आह्वान गर्दछु,’ भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

‘महिला सम्मानः सभ्य समाजको पहिचान’ भन्ने मूल विषयका साथ आज विभिन्न कार्यक्रमहरूको आयोजना गरी चौथो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ । दिवसको अवसरमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

‘लैङ्गिक समानता प्राप्तिको आन्दोलनमा योगदान रप्रेरित गर्ने सम्पूर्ण अग्रजहरूप्रति यस अवसरमा हार्दिक सम्मान प्रकट गर्दछु,’ सन्देशमा भनिएको छ, ‘यस दिवसले सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तन ल्याउँदै नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु ।’