
काठमाडौं, १४ जेठ । पत्रकार सहिद कृष्ण सेन ‘इच्छुक’ को २०औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले चार जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।
सेन्टरले कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट संगठनका संस्थापक अध्यक्ष तथा इन्चार्ज महेश्वर दाहाल र संस्थापक सदस्य तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यलाई पुरस्कृत गरेको छ ।
५० हजार राशी रहेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार आचार्यलाई २०७८ सालको र दाहाललाई २०७९ सालको पुरस्कार प्रदान गरिएको सेन्टरका अध्यक्ष विष्णु सापकोटाले बताए । गत कोभिड–१९ का कारण पुरस्कार स्थगित गरिएको थियो ।
त्यसैगरी वरिष्ठ पत्रकारहरु शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापना गरिएको शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कारबाट संस्थापक सदस्य तथा निवर्तमान उपाध्यक्ष बलराम थापा र सेन्टरका निवर्तमान उपाध्यक्ष लक्ष्मी पुनलाई पुरस्कृत गरिएको छ । थापालाई २०७८ र पुनलाई २०७९ सालको पुरस्कार प्रदान गरिएको हो । शक्ति–तारा स्मृति पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको सेन्टरले जनाएको छ ।
पुरस्कार प्रदान गर्नका लागि प्रेस सेन्टरले नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा गोविन्द देवकोटा र गंगा बराल सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो ।
इच्छुकको २०औं स्मृति दिवसको अवसरमा काठमाडौंको बुद्धनगरमा शुक्रबार बिहान आयोजित अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहमा पुरस्कृत पत्रकारहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।















प्रतिक्रिया