
दोलखा, १३ जेठ । नेपाली कांग्रेस दोलखाका पूर्वसभापति एवम् ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य ७५ वर्षीय माधवमणि राजभण्डारीको निधन भएको छ ।
काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत उनको हिजो बिहीबार निधन भएको हो ।
स्वर्गीय राजभण्डारी पार्टीको १०औं महाधिवेशन—२०५७ मा दोलखाको सभापति थिए । लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका राजभण्डारी २०५१ को मध्यावधि निर्वाचनमा पार्टीको तर्फबाट दोलखा जिल्ला निर्वाचन क्षेत्र नं. २ को उम्मेदवार बनेका थिए ।
लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक हिरासत समेत व्यहोरेका राजभण्डारीको निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको कांग्रेसले जनाएको छ । उनको निधनप्रति नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
‘नेपाली कांग्रेस दोलखाका पूर्व सभापति, ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवम् मेरा मित्र माधवमणि राजभण्डारीको निधनको खबरले मलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको छ,’ सभापति देउवाको तर्फबाट पार्टी कार्यालयले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
















प्रतिक्रिया