५ कार्तिक २०८३, बिहिबार

पालिकामा राना थारु समुदायको उपस्थिति सम्मानजनक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ जेठ । कञ्चनपुरको राना थारु बाहुल्य क्षेत्र लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मला राना निर्वाचित हुनुभयो । स्थानीय तहको निर्वाचन अघि आफ्नो समुदायको पनि उपस्थिति हुनुपर्ने मागअघि सारेका राना थारु समुदायका नागरिक पालिकामा सम्मानजनक उपस्थितिले हर्षित छन् ।

“छ वडामा यहाँ तीन वडाध्यक्षसहित राना थारुको उपस्थिति सम्मानजनक छ”, अध्यक्ष रानाले भन्नुभयो, “प्रतिनिधित्व भएअनुसारको काम पनि देखाउने छौँ ।” मुलुकमै कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदाय यहाँको कृष्णपुुर, लालझाडी, बेल्डाडीमा पालिका अध्यक्ष तथा उपप्रमुखको जिम्मेवारीमा आएका छन् ।

“वडाध्यक्ष त प्रायः पालिकामा राना थारु समुदायका नागरिक आएका छन्”, उहाँले भन्नुभयो, “अघिल्लो निर्वाचनभन्दा यसपटक हाम्रो नेतृत्वदायी उपस्थिति पनि छ ।”

लालझाडी गाउँपालिकाका अध्यक्ष राना यसअघिको पालिकाको निर्वाचनमा पराजित हुनुभएको थियो । उहाँले पालिकाको विकास निर्माण र जनताको हकहितका लागि योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

सात पालिका र दुई नगरपालिका रहेको कञ्चनपुरमा दुवै पालिकाको अध्यक्षमा राना समुदायका छन् । यहाँको कृष्णपुर र बेलौरी नगरपालिकामा उपप्रमुख र लालझाडी गाउँपालिकामा राना समुदायले उपाध्यक्षको जिम्मेवारी पाएको छ । त्यसैगरी बेल्डाडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले थारु समुदायको स्थानीय तहमा उपस्थिति उत्साहजनक रहेको बताउनुभयो ।

“नेतृत्वमा आउन लगन र इमान्दार भएर आउँदा जुनसुकै समुदाय वर्ग पनि सफल हुन्छ”, अध्यक्ष रानाले भन्नुभयो, “थारु समुदायलाई माथि ल्याउन शिक्षाको महत्व बझाउन जरुरी छ ।” उहाँले राना थारु समुदायका बालबालिकालाई शिक्षा आर्जनमा प्रोत्साहन गनुपर्ने खालका प्याकेज ल्याउन आवश्यक रहेको बताउनुभयो ।

“कला, संस्कृति संरक्षण र राम्रा परम्परागत प्रथाको जगेर्नाका लागि पनि बजेटमार्फत सम्बोधन गछौँ”, उहाँले भन्नुभयो, “समग्र पालिकाको विकास हाम्रो प्राथमिकता हो ।” नेपाली कांग्रेस कञ्चनपुरका उपसभापतिसमेत रहनुभएका पालिका अध्यक्ष रानाले दुई दशक शिक्षण पेशा अगालेर राजनीतिमा आएको बताउनुभयो ।–रासस