६ कार्तिक २०८३, शुक्रबार

डा. विष्णुमाया परियार अमेरिकाको एएपीआई आयोगमा मनोनित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । सामाजिक अभियन्ता डा. विष्णुमाया परियारलाई एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर (एएपीआई) आयोगमा मनोनयन गरिएको छ ।

अमेरिकाको न्यूजर्सी राज्यका गभर्नर फिल मर्फीले परियारलाई मनोनित गरेका हुन् । गभर्नर मर्फीले परियारसहित २८ जनालाई मनोनयन गरेका हुन् । यसरी आयोगमा मनोनित हुने डा. परियार एक मात्र नेपाली हुन् ।

डा. परियार हाल अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सिटीस्थित केयरपोइन्ट हेल्थअन्तर्गत हड्सन स्पिककी वरिष्ठ कार्यक्रम संयोजकको रूपमा कार्यरत छिन् । हड्सन स्पिक न्युजर्सी राज्यको हड्सन काउन्टीमा यौन हिंसाविरुद्ध गैरसरकारी र सरकारी सहकार्यमा आकस्मिक सहायता प्रदान गर्ने मुख्य संस्था हो ।

जर्सी सिटी सहरको नगर प्रमुख स्टिभन फुलपको विविधता र समावेशी समितिकी पूर्वसल्लाहकारसमेत भइसकेकी डा. परियार हाल जर्सी सिटी सहरको महिला सल्लाहकार तथा रोजगारी र तालिम समितिको सदस्य छिन् । जर्सी सिटी सहरको महिला आयोगको गठन गत जनवरी २६ मा परिषद् सभापति जोयस वाटरम्यानको नेतृत्व र डा. परियारको पहलमा भएको थियो ।

मर्फीले सन् २०२१ को नोभेम्बरमा एएपीआई आयोगको स्थापना गरेका थिए । मे महिनालाई एएपीआई सम्पदा महिनाको रूपमा मनाइने र यसै अवसरमा विभिन्न व्यक्तिलाई मनोनयन गरिएको हो ।

यो आयोगले उक्त राज्यमा एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर समुदायको सामाजिक र आर्थिक हक हितको निम्ति नीति निर्माण गर्ने जिम्मेवारी पाएको परियारले बताइन् । उनका अनुसार गभर्नर र राज्य सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी पनि यसलाई दिइएको छ ।

डा. परियारको जीवन कहानी विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित छ ।